१७ वर्षदेखि ओछ्यान परेका खड्गीलाई घरमै नागरिकता



ललितपुर ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पूर्ण रूपमा अशक्त तथा अपाड्डता भएका नागरिकलाई घरमै गएर नागरिकता वितरण गर्ने कार्यको थालनी गरेको छ।

खान र बस्नसमेत नसक्ने नख्खु निवासी १७ वर्षीया कृषा खड्गीलार्ई प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै गएर नागरिकता वितरण गरी सो कार्यको सुरुआत गरेको हो।

नागरिकता वितरण गर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रशासकीय अधिकृत सुजन फागो लिम्बू र नागरिकता फाँटका कर्मचारीको टोलीसहित नख्खु पुग्नुभएको थियो ।

छोरीको नागरिकताका लागि बाबु कृष्णप्रसाद खड्गी बिहीबार मानभवनस्थित कार्यालय पुग्नुभएको थियो। कार्यालय पुगेर बुबा कृष्णप्रसादले छोरी पूर्ण अशक्त रहेको जनाउँदै सनाखतका लागि कार्यालय आउन र ल्याउन नसकिने कुरो राख्नुभएपछि प्रजिअ श्रेष्ठले घरमै गएर सनाखत गरी नागरिकता वितरण गर्ने निर्णय गर्नुभएको थियो।

नागरिकताको प्रमाणपत्र सबै प्रकारको अधिकारको आधारभूत दस्तावेज भएको जिकिर गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो– ‘कोही पनि नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुहुँदैन । त्यसैले ‘क’ वर्गका अपाड्डता भएका नागरिकलाई घरमै गएर नागरिकता वितरण गरिने छ।’

बुबा कृष्णप्रसादले प्रशासनको टोली घरमै आएर नागरिकता वितरण गरेपछि परिवारमा खुशी छाएको थियो। अपाड्डताको अवस्था बुझेर प्रशासनको टोेली घरमै आएर नागरिकता वितरण गरेको देख्दा खुशी लागेको बताउनुभयो।

२०६३ मंसिर ४ गते जन्मिएकी कृषामा सात महिना भएपछि हात खुट्टा र जीउ चलाउन नसक्ने समस्या देखिएको आमा शोभा खड्गीले बताउनुभयो।

त्यसयता २४ घण्टा ओछ्यानमा पल्टिएर छोरीले जीवन बिताउनुपरेको बताउँदै आमा शोभाले भन्नुभयो– ‘शरीरको तौलको कारण उपचारको लागि बाहिर लाने र ल्याउनसमेत गर्न सकेको छैन।’

खड्गीको तौल ६५ किलो रहेको छ। उपचारका लागि अनेक प्रयास गर्दा पनि कृषाको स्वास्थ्य सुधार नआएको र अपाड्डता भएका कारण पढाउन र लेखाउन पनि नसकिएको परिवारका सदस्यहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्