विन्ध्यवासिनी अवार्डमा निशान र काव्या सर्वोत्कृष्ट गायक गायिका

पलको नृत्य र समीक्षाको गीतमा झुमे दर्शक



काठमाडौं ।

नेपाली गीत संगीत जगत्को प्रतिष्ठित अवार्ड विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ।

मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुति रहेको अवार्ड समारोहमा गीत संगीतका विभिन्न विधाका संगीतकर्मीलाई सम्मान गरिएको थियो। समारोहमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो।

समारोहमा सुगम संगीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे। त्यसैगरी यही विधामा बिबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजकको अवार्ड विजेता भए। सर्वोत्कृष्ट गीतको अवार्ड विष्णु भण्डारीले उचाले।

समारोहमा ख्यातिप्राप्त गायिका मिरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मान गरिएको छ।

त्यस्तै, संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिएको छ।

जसको नगद राशी २५ हजार रुपियाँ रहेको छ। पूर्वनेपाल सुन्दरी सुगरीका केसीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। सो क्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी श्रष्टा सम्मानबाट सम्मान गरिएको छ।

विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गायिका मिरा राणाको सम्मानमा नवपुस्ताकी गायिका बेनिसा पौडेलले उनीद्वारा स्वरबद्ध मखमली चोली चाहिँदैन बोलको गीत गाएकी थिइन्।

त्यस्तै सम्मानित संगितकार भूपेन्द्र रायमाझीको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले बिरही माया र फूल भए जिन्दगी बोलको गीत प्रस्तुत गरेर दर्शकलाई भावुक तुल्याएका थिए।

कार्यक्रममा सम्मानित गायक रुपक डोटेलले आफ्नै गीत सपनी राम्रो देख्दिनँ, मेरो बोली सुन्दा, ए माइली, चोखो माया लाकै हो, मुस्कानमा अल्झिए कि, वनकी चरीजस्ता गीत गाएर दर्शक रिझाएका थिए। त्यसैगरी अर्का सम्मानित गायक राजु परियारले आफ्नो लोकप्रिय गीत सुनपानीले छर्क मायालु गाएर भावुक तुल्याएका थिए।

गीत संगीत र नृत्य प्रस्तुतिका साथ अघि बढेको कार्यक्रममा गायक शिरिष देवकोटा र देवी घर्ती सुनीता बुढा क्षेत्रीले बैना हजुर, नजरैको भर, म त आउने थिइनजस्ता गीत प्रस्तुत गरेर कार्यक्रमको माहोल तताएका थिए।

गायिका समीक्षा अधिकारीले नबोली नबोली बोलको गीत प्रस्तुत गर्दा नायक पल शाह र एलिना रायमाझी काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुनलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी कार्यक्रममा रोचकता थपेका थिए। उनीहरूको प्रस्तुतिमा दर्शक झुमेका थिए।

विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा मनीष गन्धर्व र उनको सारंगी स्कुलका विद्यार्थीले सारंगीमार्फत विभिन्न धुन प्रस्तुत गरेका थिए। समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरियो।

सम्मान
विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड
मिरा राणा
विन्ध्यवासिनी संगीत साधना सम्मान
भूपेन्द्र रायमाझी
प्रेमध्वज संगीत रत्न सम्मान
रुपक डोटेल
झलकमान लोक संगीत सम्मान
राजु परियार
विन्ध्यवासिनी कला पत्रकारिता सम्मान
शान्ति प्रिय
अनवरत लोकदोहोरी स्रष्टा सम्मान
लक्ष्मी सुवेदी
विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान
दीपक अर्याल, जापान

जुरी अवार्ड
आधुनिक गायनतर्फ : बेनिषा पौडेल
लोक तथा दोहोरी गायनतर्फ : समीक्षा अधिकारी
गीतकारतर्फ : सविता पोखरेल
अभिनयतर्फ : सञ्चिता शाही
सम्पादनतर्फ : दीपक विष्ट
निर्देशनतर्फ : काजिश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्