विनयतारा फाउन्डेसनको सहयोगमा जनकपुरमा २ सय बेडको क्यान्सर अस्पताल बन्ने



काठमाडौं ।

विनयतारा फाउन्डेसनले यही वर्षदेखि नेपालको जनकपुरमा २ सय बेडको क्यान्सर अस्पताल निर्माण प्रक्रिया थाल्ने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा विनय शाह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा. वाइपी सिंहले उक्त घोषणा गरेका हुन् ।

अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको आवश्यक जग्गा र सुरुवाती लगानीको जोहो भइसकेको उनीहरुले बताएका छन् । हाल मधेश प्रदेशको जनकपुरस्थित कपिलेश्वर रोडमा २५ बेडको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर सञ्चालन गरिरहेको छ । उक्त क्यान्सर सेन्टरलाई २ सय बेडको सवै प्रकारका क्यान्सरको उपचार केन्द्रका रुपमा विस्तार गर्ने विस्तृत योजना पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेका हुन् ।

सन् २००३ उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका पुगेका डा. शाहले अमेरिकालाई उनले भौतिक उपस्थितिको थलो मात्रै बनाएको बताएका छन् । मनले भने आफू हरेक क्षण नेपालमा रहेको बताउँदै उनले भने, ’मनलाई देशको माटोबाट अलग हुन नदिन उनले आफ्नो करियरको सुरुवातमै बिनयतारा फाउन्डेसन खोलेका हौं । म आज जे छु, त्यो नेपालले बनाएको हो । यहीँको सरकारी स्कुलमा पढें । सरकारी कोटामै एमबीबीएस गरें । अब यही देशको क्यान्सर उपचार केन्द्रमा केही गर्न चाहन्छौं ।’

नेपालमा विश्वस्तरीय क्यान्सर उपचार केन्द्र बनाउने आफ्नो सपना रहेको बताए । उच्चस्तरीय प्रविधिको साथै दक्ष चिकित्सकीय सेवा उपलब्ध गराउने तयारी रहेको बताए । जसको सुरुवात यही वर्षबाट गर्न आफू नेपाल आएको उल्लेख गरे । ’सन् २०२४ देखि २ सय बेडको क्यान्सर अस्पतालको भवन निर्माण सुरु हुनेछ । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर मधेश प्रदेशको जनकपुरमा क्यान्सर उपचार केन्द्रको बनाउने तयारी गरिएको हो,’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

कार्यक्रममा अमेरिकामै जन्मेहुर्केका चिकित्सक डा डेभिड एबुलाफिया समेत उपस्थित थिए । युनिभर्सिटी अफ वासिंगटनमा क्यान्सर विषयमा प्राध्यापन समेत गर्ने उनले त्यहाँ उपचार सेवा पनि दिइरहेका छन् । डा शाहको अवधारणाले आफूलाई प्रभावित बनाएको बताए । फाउन्डेसनको बोर्ड सदस्य समेत रहेका उनले भने, ’पहिले त मलाई त्यति रुचि थिएन । जब नेपाल आएर अवस्था हेरें । मैले केही न केही योगदान गर्नैपर्छ भन्ने महशुस भयो ।’
उनी अस्पताल निर्माणकै प्रक्रियाको थालनी गर्न नेपाल आइपुगेका हुन् । उनले उपचार सेवाका साथै उपचारको पहुँचको अभियानमा पनि आफूलाई समाहित गरेका छन् ।

हरेक वर्ष कम्तिमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल बनाउन खोजिएको डा शाह बताउँछन् । वरिष्ठ क्यान्सर सर्जन तथा विनयतारा ट्रस्ट नेपालका अध्यक्ष डा वाइपी सिंहले नेपालमा विश्वस्तरीय उपचार सेवा दिने अस्पताल निर्माण गर्न क्रम अघि बढिसकेको बताए । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति समेत दिइसकेको बताए । उनले भने, ’नेपालमा राम्रो क्यान्सर उपचार हुने सेन्टर जरुरी छ । त्यसैले हामी यतातिर लागेका हौं ।’ समाजका लागि केही न केही योगदान गरेर छाड्ने डा शाहको सोचबाट प्रभावित भएर आफू पनि जोडिएको बताए ।

फाउन्डेसनले यसअघि काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा सहयोग गरेको थियो । त्यहाँका चिकित्सक तथा नर्सलाई अमेरिकामा तालिम दिनका लागि समन्वय र केही आर्थिक सहयोग गरेको डा शाह बताउँछन् । सन् २०१८ देखि २५ बेडको अस्पताल जनकपुरमा सुरु भइसकेको छ । जहाँ किमोथेरापी, सर्जरी, आइसियु र ल्याबको व्यवस्था छ । जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याब उक्त सेन्टरमा खुलेको छ ।
उक्त अस्पतालमा हरेक आइतबार ’नेपाल–युएसए ट्युमर बोर्ड’ हुन्छ । क्यान्सरको बिरामी उक्त अस्पतालमा आएमा नेपालका चिकित्सकहरुसँग अमेरिकाका विशेषज्ञले भर्चुअल माध्यमबाट छलफल गर्छन् । नेपाली चिकित्सकलाई उपचारका लागि सहजीकरण गर्ने काम अमेरिकाका डाक्टरहरुले गर्छन् । जसले गर्दा विश्वले उपचारका लागि पत्ता लगाएको नयाँ ज्ञान र प्रयोगमा आएको सीप यहाँका बिरामीको उपचारमा प्रयोग हुन्छ ।

प्रविधिको उपयोगमा पनि उक्त अस्पताल नमूना बनाउने फाउन्डेसनको लक्ष्य छ। अहिले अमेरिकाकै टेक्सासमा बस्ने नेपाली मुलका डाक्टर डा सुवोध मलिकको नेतृत्वमा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङको अभ्यास जनकपुरमा रहेको क्यान्सर सेन्टरमा पनि भइरहेको छ । ४ विघा जग्गामा बन्ने २ सय बेडको अस्पताललाई शतप्रतिशत कागजविहिन बनाउने पनि फाउन्डेसनको योजना छ । जसको थालनी अहिलेदेखि नै भएको बताइएको छ ।

फाउन्डेसनले हरेक वर्ष विश्वका नाम चलेका चिकित्सकलाई जनकपुरमा ल्याएर ’क्यान्सर कंग्रेस’ गर्ने गरेको छ । यसवर्ष मार्च १६ का लागि तय गरिएको छ । फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स र सीएमई कार्यक्रम गर्ने ठूलो संस्था मध्ये एक हो । कन्फ्रेन्स, सीएमई र सहयोगी दाताबाट प्राप्त रकमलाई कोष बनाएर नेपाल तथा दक्षिण एशियाको क्यान्सर क्षेत्रमा काम गरिरहेको हो । फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो । जसले अमेरिकामा क्यान्सरसँग सम्बन्धित सीएमई र कन्फ्रेन्स, नेपालका साथै दक्षिण एशियामा क्यान्सर उपचार र सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्