अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा क्यान्सर अस्पतालद्वारा एक सय महिला र पुरुषलाई सम्मान



 काठमाडौँ। 

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले एक सय भन्दा बढी महिला र पुरुषलाई सम्मान गरिएको छ ।

दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराइराखेका र निको भइसकेकाको साथै उनीहरुको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी  सयभन्दा बढी पुरुष र महिलाहरुलाई सम्मान गरिएको हो ।

‘क्यान्सरको उपचार गराइराखेका र क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको ४५ औँ भेटघाट’को कार्यक्रममा अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले एक सय जनालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

 सम्मानित हुने पुरुषहरुमा सो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठदेखि सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, आइटी विभाग प्रमुख डा. दीपक यात्री,नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशाङ्क शर्मा, पत्रकार बलराम प्यासीलगायत नर्स र क्यान्सर सर्भाइभरहरु थिए ।

नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाले नेपाल क्यान्सर अस्पतालसंग सहकार्य गर्दै विगत १३ वर्षदेखि विपन्न क्यान्सर विरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाईदिनुका साथै मुलुकका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लगेर निःशुल्क क्यान्सर शिविर र जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘क्यान्सररोग अरु रोगजस्तै समयमै उपचार गरे निको हुन्छ’ भनेर सन्देश दिन क्यान्सरको उपचार गराइराखेका र निको भईसकेकाहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक तीनपटक र्‍याम्प सो आयोजना गरिएको कार्यक्रम संयोजक उपाध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

कार्यक्रमका वक्ताहरुले महिलाको साथ पुरुष र पुरुषको साथ महिलालाई भएमा मात्रै घर-समाज र देश बन्ने कुरामा जोड दिए ।


उनीहरुले क्यान्सरका बिरामीलाई समयमै उपचारमा ल्याउन क्यान्सरबारे देशव्यापीरुपमा जनचेतना फैलाउनुपर्ने बताउँदै महिलाहरुले आफ्नो स्वास्थ्यमा चासो राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, सिनीयर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष शशाङ्क शर्मा, आइटी विभाग प्रमुख डा.दीपक यात्री, त्रिभुवन विश्वविद्यालयकी सहायक डीन डा.सोनी बराललगायतले बोलेका थिए भने कविता गौतम, गोमा दवाडी, इन्दिरा प्रधानाङ्गलगायतले कविता वाचन तथा गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्