ललितपुरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न 



ललितपुर ।

ललितपुर महानगरपालिका – १६ वडा कार्यालय र अरनिको समाज मिलेर शनिवार स्थानीय बुबहालमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भयो।
सो शिविरमा मुटु र आँखा जाँच गरिएको थियो। शिविरमा करिब २ सयले परीक्षण गराएका  थिए। आँखा जाँच गराउने ९४ जना मध्ये १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गराउनुपर्ने पाइएको छ । तिनिहरुलाई निःशुल्क शल्यक्रिया गरिने पनि आयोजकले जनाएको छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच, नियमित स्वास्थ्य परीक्षणको बानी बसाल्नुपर्ने चेतना दिने उद्देश्यले फागुन ५ गते शनिवार मंगलबजारबाट स्वास्थ्य शिविरको सुरुआत भएको थियो।

फागुन १२ शनिवार नकबहीलमा मधुमेह, सुगर र कालेस्टोरल जाँच गरिने छ। फागुन १९ गते नागबहालमा हाडजोर्नी र नशा, फागुन २६ गते बुबहालमा मुटुरोग र निःशुल्क इको जाँच हुने समाजका कोषाध्यक्ष एवं डा. सुशील प्रजापतिले जानकारी दिए । त्यस्तै चैत्र ३ गते स्वठः नारायण मन्दिर परिसरमा स्त्री रोग र बाल रोगको परीक्षण र चैत्र १० गते मंगलबजारमा पेट तथा कलेजो, छाती रोग र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य परीक्षण गरिने वडाध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए।

यस कार्यको लागि डा. सर्वोत्तम श्रेष्ठको नेतृत्वमा डा. सुशील प्रजापति, डा. बुद्धबहादुर कार्की, डा. मनिलरत्न बज्राचार्य,डा. शैलेन्द्र महर्जन, डा. प्रमोद देवकोटा,डा.दिपंकर प्रजापति,डा. नग्मा श्रेष्ठ, डा. दिपक राजभण्डारी, डा. उर्मिला शाक्य, डा अजला प्रजापति र डा कृष्णगोपाल महर्जन सम्मिलित टोली खटिएको छ ।

शिविरमा परीक्षण गर्न आउनेहरुलाई आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गर्दै आएको पनि वडा कार्यालयले जनाएको छ। यस अघि २०७७ माघ र फागुनमा पनि वडाले समाजसंग मिलेर प्रत्येक शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो भने यसबाट ७ सय जना लाभान्वित भएका थिए।

प्रतिक्रिया दिनुहोस्