दुई लाख ५१ हजार राशिको बागमती प्रदेश स्तरीय भलिबल



दोलखा।

जनयुद्धको क्रममा सहिद भएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा दोलखा युवा सञ्जालले प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उद्घाटन माओवादी नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्काले गरेकी थिइन्।

प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए । प्रतियोगितामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार, तृतिय हुने टिमलाई ५१ हजार र सान्त्वना हुने टिमलाई २१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा युवा सञ्जालले जनाएको छ ।

दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीको सभापतित्वमा सम्पन्न खेल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रको नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्