दादुरा रुवेला खोप उत्साहजनक



काठमाडौ। 

बागमती प्रदेश अन्तरगतका १३ जिल्लामा दादुरा रुवेला खोप लगाउन लक्षित कुल बालबालिकाको संख्यामध्ये करिब ५० प्रतिशत बालबालिका काठमाडौँका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौँले यसपटक जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका ५ लाख ९७ हजार ३०५ जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ ।

दादुरा रुवेला खोप ९ महिना देखि ५ वर्ष उमेर समूहकालाई दिइने भनिए पनि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला र तराईका २१ जिल्ला गरी कुल २४ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिने निर्णय गरेको छ ।

अघिल्ला वर्षहरुमा दादुराका केश देखिएका कारण पनि बढी जोखिम क्षेत्र मानेर यी जिल्लाहरुमा १५ वर्ष उमेरसम्मका बालबालिकाहरुलाई यो खोप दिन लागिएको हो ।

गत आइतबार देखि आगामी ७ चैतसम्म देशव्यापी रुपमा सञ्चालित यो खोप अभियान काठमाडौँमा महानगरपालिका बाहेक अरु पालिकाहरुमा तोकिएकै दिनबाट सञ्चालनमा आएको छ । महानगर भित्र भने गत १६ फागुन देखि मात्रै यो खोप सुरु भएको हो । तर अहिले पनि सबै वडामा सुरु भइसकेको छैन ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रवक्ता डा. भुवन पौडेलले महानगरको केही वडाहरुमा १६ फागुन देखि सञ्चालनमा आएको र बाँकी वडाहरुमा आगमी आइतबार (२० फागुन) देखि सञ्चालनमा आउने बताए ।

उनले सुरु भएका पालिका र वडाहरुमा खोप अभियान उत्साहप्रद ढंगले अघि बढेको बताए ।

‘विद्यालयहरुमा खोप केन्द्र राखेका छौँ, स्थानीय पालिका र वडाहरुले विद्यालय केन्द्रसंग समन्वय गरेर खोप लगाउने गर्नु भएको छ । हिजो विहीबारसम्म काठमाडौँमा लक्षित समूहको २८.१६ प्रतिशतले खोप लगाएको लगाएको विवरण आएको छ,’ उनले भने ।

डा पौडेलका अनुसार काठमाडौँको ११ वटा पालिकामध्ये बिहीबार सम्म सबैभन्दा बढी खोप कभरेज दक्षिणकाली नगरपालिकामा भएको छ । सो नगरपालिकामा बिहीबारसम्म खोप लगाउन लक्षित बालबालिकामध्ये ६७.७८ प्रतिशतले पाइसकेका छन् । यस्तै दोस्रोमा शंकरापुर नगरपालिका रहेको छ । सो पालिकाले लक्षित संख्याको ६६.३८ प्रतिशतलाई खोप दिईसकेको छ । धेरै वडामा आइतबारबाट मात्रै सुरु हुने भएकोले काठमाडौँ महानगरपालिकाको खोप कभरेज अन्य पालिकाको तुलनामा सबैभन्दा कम रहेको छ ।

‘१६ मंसिर देखि केही वडामा सुरु भएको हो । सबैमा होइन । बिहीबारसम्म १०.५५ प्रतिशत कभरेज भएको छ । महानगर भित्र हामीले २ लाख ५० हजार बालबालिकालाई यो खोप दिने लक्ष्य लिएका छौँ,’ प्रवक्ता डा पौडेलले भने ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले दादुरा रुवेला रोग निवारण गर्ने सरकारको लक्ष्य अनुरुप यो विशेष खोप अभियान सुरु भएको भन्दै आमा अभिभावकले आफ्ना बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरे ।

‘खोपका बारेमा कुनै शंका लिनु पर्दैन, विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त खोप हो । भविस्यमा लाग्न सक्ने दादुरा रुवेला रोगबाट जोगाउँनका लागि यो अभियान सुरु गरेका हौँ । काठमाडौँको हकमा हामीले ९ महिना देखि १५ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई यो खोप दिइरहेका छौँ । काठमाडौँमा गतवर्ष कागेश्वरी र शंकरापुरमा केश देखिएको थियो । त्यसैले पनि आगामी दिनमा त्यसो नहोस भन्नका लागि लक्षित समूहले खोप नछुटाई लगाउँ । आम अभिभावक र स्थानीय जनप्रतिनिधिहरु यसमा विशेष चनाखो बन्नु पर्छ,’ उनले भने ।

स्वास्थ्य कार्यालय काठमाडौँले यो अभियानका लागि १ हजार ६७० खोप केन्द्र तय गरेको छ । यस्तै खोप सेसन २ हजार ४७३ र खटिने स्वास्थ्यकर्मीको संख्या ३३२ जना रहेको जनाएको छ । यही अभियानमा जिल्लाभर थप ३ हजार १०० महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिने पनि स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

सरकारले सन् २०२३ सम्म दादुरा(रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्