भोकले रुखका पात चाट्छन् विद्यार्थी !



हेटौंडा ।

हेटौंडा उपमहानगर हो। जसले स्थापनाको ५५औं दिवस मनाइसकेको छ । सोही उपमहानगरको १९ नम्बर वडाको एक गाउँ लेखपानीमा रहेको सामुदायिक विद्यालयका विद्यार्थी भोकले छट्पटिँदै विद्यालयनजिकको जंगलका रुख चढेर पात चाट्ने गर्छन्।

पातमा गुलियो ‘मह’ हुने भन्दै पात चाट्ने गर्दा रुखबाट लडेर कहिलेकाहीं विद्यार्थी घाइते पनि हुने गरेका छन्। विद्यार्थी रुखमा चढेर पात चाट्ने कारण हिजोआज कक्षाबाट निस्कन दिने नगरिएको शिक्षक सीता सापकोटा बताउनुभएको छ।

अधिकांश तामाङ समुदाय रहेको लेखपानीमा एउटामात्र विद्यालय छ। विद्यालयमा शिक्षक र कर्मचारी गरी ४ जना कार्यरत छन्। २०५९ सालमा स्थापना भएको विद्यालयमा हाल ३८ बालबालिकामात्र छन्।

अभिभावक बिहान मेलापात हिँड्ने गरेकाले बालबालिका भोकै विद्यालय आउँछन्। अभिभावक मेलाबाट ढिलो फर्कने कारण बालबालिका भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक कुमारसिं गोलेको भनाइ छ।

‘बालबालिका विद्यालय आउनेबित्तिकै भोको पेटका कारण कोही झोक्राएर बस्छन् त कोही भोक लाग्यो भनेर रुन थाल्छन्’, उहाँ भन्नुहुन्छ– ‘बच्चाका लागि छुट्याइएको खाजाखर्चले पु¥याउन मुस्किल पर्छ। तर पनि भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने भएकाले विद्यालय आउनेबितिकै खाना खान दिएरमात्र पढाउन शुरु गर्ने गरेका छौं ।’

बालबालिकालाई खाजामा मासुभात, जाउलो र रोटी मिलाएर खुवाउने गरिएको छ। शुक्रबार बालबालिका धेरै विद्यालय आउने भएकाले मासुभात राखिएको छ। विद्यालयको अगाडि ठूलो भीर छ।

पर्खाल नभएका कारण बालबालिका भीरबाट खसेर घाइतेसमेत हुने गरेका छन्। विद्यालयमात्र होइन, गाउँमै खानेपानीको निकै ठूलो समस्या छ।

विद्यालयका लागि खानेपानी लिन करिब ५ किलोमिटर कठिन ओरालो गोरेटो हिँडेर इनार पुग्नुपर्छ। इनारबाट गाग्रोमा भरेर ल्याइएको पानी विद्यार्थीलाई खुवाउने गरिएको छ ।

विद्यालयमा उपमहानगरपालिकाले दिएको २ वटा ट्यांकी छ । त्यही ट्यांकीमा आकाशेपानी भरेर हातमुख धुने पानीको व्यवस्था गर्ने गरिएको छ।

जीवनज्योति विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्छ । यहाँको पढाइ सकेपछि करिब ७० प्रतिशत बालबालिकालले पढाइ छाड्ने गरेको प्रधानाध्यापक गोलेको दाबी छ।

केही बालबालिकाका अभिभावकले लेवट बजारसम्म ल्याई कोठामा राखेर पढाउने गरेका छन् भने अधिकांश बालबालिकाले १५/१६ वर्षकै उमेरमा भागेर विवाह गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्