धुलिखेल अस्पतालमा स्तन क्यान्सर सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन 



काभ्रे।  

स्तन क्यान्सर सम्बन्धी धुलिखेल अस्पतालमा तीन दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रमुख  जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी छन् ।

‘नेपालमा क्यान्सरबाट सङ्क्रमण रहेका  विरामीहरु मध्ये स्तन क्यान्सरका बिरामी दोस्रो सूचीमा छन्’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘चेतनामुलक कार्यक्रम, अभियान, सचेतनाका लागि तीन तहकै सरकार र सरोकारवाला निकायहरुको सक्रियता आवश्यक छ ।’ विद्यालय स्तरमा बालबालिकाहरुलाई क्यान्सर रोगका बारेमा मात्रै नभई विशेषगरी बालिकाहरुलाई स्तन क्यान्सरका बारेमा सचेत गराउनु जरुरी रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठले अस्पतालसम्म बिरामी आउने भन्दा बिरामी भएका स्थानमा अस्पताल र चिकित्सक सहितको सेवा पुग्ने गरी धुलिखेल अस्पतालले हरेक सेवालाई गुणस्तरीय र प्राथमिकतामा राखेको बताए । ‘धुलिखेल अस्पतालमा विभिन्न सेवाहरु गुणस्तरीय छन् । अझै स्तन क्यान्सर सम्बन्धी उपचार, परीक्षण, पहिचानका बारेमा चिकित्सकहरुले विशेष ढंगले प्राथमिकतामा राखेको छ’– प्रा.डा रामकण्ठ माकजुले भने–‘स्तन क्यान्सर हुनै नदिन समुदायमा सचेतना फैलाउनु आजको चुनौती र आवश्यकता रहेको छ ।’

ब्यत्तिको उमेर बढ्दै जाँदा क्यान्सरका विभिन्न घटनाहरु वृद्धिको सामना गरिरहनु परेको बताउँदै चिकित्सकहरुले नेपाल एक विकासोन्मुख राष्ट्र भएकाले यहाँ स्तन क्यान्सर महिलाहरुमा दोस्रो सबै भन्दा घातक रोगको रुपमा रहेको उल्लेख गरिएको छ । उक्त रोगका बारेमा  छलफल र नेपालमा स्तन क्यान्सरका लागि चुनौतीहरु माथि प्रकाश पार्ने, जनचेतना अभिवृद्धि  गर्ने र प्रभावकारी रोकथामका रणनीतिहरु खोज्नुपर्ने आवश्यकता औँल्याउन उक्त सम्मेलन आयोजना गरिएको हो । धुलिखेल अस्पतालको आयोजनामा फाल्गुण १५, १६ र १७ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको दोस्रो स्तन क्यान्सर सम्बन्धी सम्मेलनले नयाँ नयाँ रोग र त्यसको विकासक्रममा चिकित्सकहरुको भूमिका तथा नागरिकहरुलाई दिनु पर्ने सेवा र उपचार पद्धतिका सन्दर्भमा समेत एक आपसमा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा धुलिखेल अस्पतालका डा.रमेश माकजु, डा.बलराम मल्ल, स्तन क्यान्सर संस्थाका डा.यज्ञरत्न शाक्य र डा.विनय श्रेष्ठ, जर्मनबाट प्रतिनिधित्व गर्ने विशेषज्ञ डा.मोरिटज श्रोवर, डा. सम्झना बस्नेत लगायतले नेपालमा स्तन क्यान्सरका समस्या, समाधानका उपाय र अस्पतालको भूमिकाका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्