प्रथम स्व. सन्तोष थापा स्मृति कपको उपाधि बागलुङलाई



स्याङ्जा।

स्याङ्जाको चापाकोट नगरपालिकामा सम्पन्न भएको आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८० को उपाधि बागलुङले जितेको छ । चापाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित दोस्रो चापाकोट महोत्सवमा संचालित प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८० प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बागलुङले स्याङ्जालाई ३– १ को सेटमा हराउँदै उपाधि जितेको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो ।

प्रतियोगितको विजेता बागलुङले उपाधिसँगै १ लाख ५० हजार तथा उपविजेता स्याङ्जाले १ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी पर्वतले नवलपुरलाई हराउँदै तेस्रो भएको छ । पर्वतले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत, तनहुँ, पाल्पा र कास्की गरी सात जिल्लाको टिमले सहभागीता जनाएका थिए । “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि सुरु भएको चापाकोट महोत्सव १३ गते सम्पन्न भएको छ । महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिए ।

त्यस्तै खेल अवधिमा उत्कृष्ट खेलाडी बनेका बागलुङका रवि के.सी., उत्कृष्ट स्पाईकर बागलुङका रेशम छन्त्याल, उत्कृष्ट ब्लकर पर्वतका रुपेन्द्र नेपाली, उत्कृष्ट सेटर बागलुङका मीन सुनार, उत्कृष्ट डिफेन्डर बागलुङका कुन्जन शाही र उत्कृष्ट सर्भर स्याङ्जाका बिजय थापा तथा उत्कृष्ट कोच बागलुङका सुरेन्द्र के.सी.ले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका–२ धुर्कोटका सन्तोष थापाको गत कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उहाँकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी नगर खेलकुद विकास समितिको समन्वयमा ʻस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदʼ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता गरिएको खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्