राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न



नवलपरासी ।

नवलपरासी गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार  पूर्वी नवलपरासीमा सम्पन्न भएको छ । सम्पन्न समारोहमा विजयी खेलाडीहरूलाई शिल्ड ट्रफी र विभिन्न पदकले सम्मानित गर्दै पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य एवं  रोशन बहादुर गाहा मगरले बधाई तथा धन्यवाद व्यक्त गर्नु भयो ।

प्रदेश स्तरको उक्त प्रतियोगिताको एथलेटिक्स,उसु,सितेरयो कराते,तेक्वान्दो,कवड्डी र भलिबलका ६६ पदक मध्ये कास्कीले सर्वाधिक १८ स्वर्ण जित्दै गण्डकी प्रथम हुन सफल भएको छ । योसँगै कास्कीका खेलाडीले ११ रजत र २३ कास्य पदक पनि हात पारेका छन् ।   यसै गरी प्रतियोगितामा बागलुङ जिल्ला १६ स्वर्ण ६ रजत र १४ कास्य पदक सहित दोस्रो भएको छ । तेस्रो बन्न सफल म्याग्दीले ९   स्वर्ण ११ रजत र १० कास्य पदक जितेको हो । म्याग्दीकै नजिक नजिकमा नवलपुरले ९ स्वर्ण १० रजत र ११ कास्य हात पारेको छ ।

यसै गरी  लमजुङले ६ स्वर्ण ५ रजत र ६ कास्य, तनहुँलाई ५  स्वर्ण १२ रजत र १९ कास्य, गोरखालाई २ स्वर्ण ७ रजत र ७ कास्य, स्याङ्जालाई १ स्वर्ण १ रजत र ३  कास्य तथा पर्वतलाई ३ रजत र ७ कास्य जितेको छ । प्रतियोगितामा १५ सय मिटर दौडमा छात्र तर्फ बागलुङका खेलाडी बादल कार्की प्रथम,तेन्जिङ रोका मगर कास्की द्वितीय र सन्दीप नेपाली पर्वत तृतीय भएका छन् ।

कार्कीले ४ मिनट २९ सेकेन्डमा १५ सय मिटर दौड पार गर्दै प्रथम भएर पदक ट्रफि तथा प्रमाणपत्र हात पारेका हुन् । छात्रा तर्फको १५ सय मिटर दौडमा तनहुँकी नम्रता गुरुङले ५ मिनेट ३२ सेकेन्डमा अन्य १० जिल्लाका खेलाडीलाई पछि पार्दै पदक तथा ट्रफी समाएकी छन् । खेल खेल्ने क्रममा ३ हजार मिटर दौडमा कास्कीका तेन्जिङ रोका र बाग्लुङकी सर्मिला बिक प्रथम भएका थिए । ज्यावलिङथ्रोमा नवलपुरकी कमला राना र लम्जुङ्गका रोनिक तामाङ प्रथम बन्न सफल रहे । छात्र भलिबलमा नवलपुर र छात्रा भलिबलमा कास्कीले  प्रथम हुँदै स्वर्ण पदक जितेका छन् । यसै गरी मार्च पासमा कास्की,तनहुँ र नवलपुर क्रमशः प्रथम द्वितीय र तृतीय भए ।

नगरपालिकागत रूपमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको व्यवस्थापक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर  पुनले बताउनु भयो । जस अन्तर्गत एथलेटिक्स र उसु कावासोती,भलिबल र कबड्डी देव चुली, तेक्वान्दो गैँडाकोट र सितेरियो करातेका स्पर्धा मध्य बिन्दुमा सम्पन्न भएका हुन् ।

गण्डकी प्रदेशका मनाङ,मुस्ताङ,म्याग्दी,बागलुङ, पर्वत, स्याङ्जा,कास्की,तनहुँ ,लमजुङ र गोरखाका जिल्लाका विभिन्न विद्यालयका खेलाडी छात्रछात्रा रेफ्री तथा अफिसियल गरी १ हजार १ सय २३ जना खेलमा सहभागिता रहेको थियो । संघीयताको मर्मलाई  आत्मसात् गर्दै खेललाई केन्द्र र प्रदेश राजधानीमा सिमित नराखि जिल्ला र गाउँ नगर सम्म लैजाने अभ्यास सुरु भएको गण्डकी प्रदेश खेलकुद परिषद्ले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्