दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजदेखि



काठमाडौं ।

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ। खोप अभियान आजदेखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए। ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने उनको भनाइ छ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन्।

काठमाडौं जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ देखि र काठमाडौं महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ। भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।

काठमाडौं दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एक जनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस्