१७ वर्षदेखि बेपत्ता छोरीको खोजीमा भौँतारिँदै आमा



धादिङ ।

अँध्यारो अनुहार, आँखामा आँसु छचल्किएको छ । अरू दुई जना छिमेकीसहित  धादिङबेंसीस्थित    नीलकण्ठ नगरपालिका अगाडि भेटिएकी  सान्द्रीमायाँ तामाङले छाेरी भेटिन्छ भन्ने अाशा बाँकि रहेकाे बताइन् । संचारकर्मीहरुलाई १७ वर्षअघि हराएको छोरीको बारेमा जानकारी दिँदा उनी झन्  भावुक बनिन्  ।

उत्तरी धादिङको खनियाँबास गाउँपालिका वडा नम्बर १ की मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन् । घरबाट साउदीअरव जान हिँडेकी छोरी बेपत्ता बनेपछि उनको परिवारमा अहिलेसम्म रुवाबासी छ ।

हिजोआज सान्द्रीमायाँ र उनका दुइ भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ ।  ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुई पटक फोनमा कुरा भयो । साउदी गएको १७ वर्ष भयो । न छोरी घर फर्किइन्, न सम्पर्क भयो । मेरो छोरी खोजिदिनुस् न है ।’ सान्द्रीमायाँले आँशुझर्दै  अनुरोध गरिन् ।

गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेका थिए ।
‘२०६३ साल पुषमा छोरी घरबाट निस्केर गइन् । २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदिअरब उडेको भन्ने खबर समेत घरमा छ । ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुइ पटक फोन ग¥यो । तर साथीले जागिर छाडेर जान लागेको छ भन्थ्यो । त्यसपछि छोरीसँग बोली मिसिएको छैन’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाँले भनिन् ।

छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उनी बताउँछिन् । ‘गाउँ टोल तथा छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ । तर छोरीको अझै पत्तै लागेन । उनका दुइ मामाको सहारा लिएर छोरी खोजिरहेको छु । मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन् । त्यही दिनको प्रतीक्षामा छु’ आँसु पुछ्दै उनले दुखेसो पोखिन् ।

‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् । छोरी बेपत्ता भएको पनि १७ वर्ष बित्यो । तर छोरी फर्किनन्, न छोरी सम्पर्कमा आइन्’ उनले भनिन्– ‘छोरीलाई विदेश पठाउन त्यतिबेला पनि गाउँकै शेरबहादुरलाई घरमै लगेर ५० हजार रुपियाँ दिएको छु । तर अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भनेर बहाना गरेर टार्छ । न मेनपावर कम्पनी थाहा, न विदेश पठाइदिएको मान्छे जिउँदो छ । छोरी खोजेरै मेरो जीवन बित्ने भयो ।’

सान्द्रीमायाँले छोरी विदेश पठाइदिने गाउँकै शेरबहादुर हो भन्ने दाबी गर्छिन् । २०६३ सालमै ५० हजार दिएको उनी बताउँछिन् । तर शेरबहादुर भने आफूले विदेश नपठाएको जिकिर गर्छन् ।

‘मैले विदेश पठाउने एक जना रुवीभ्यालीको कान्छिमायाँ तामाङसँग भेटाइदिएको हो । त्यसपछि कसरी गयो, के भयो मलाई थाहा भएन । विदेश चाहिँ गएको हो । केही पटक मसँग पनि फोनमा कुरा भयो’ शेरबहादुर भने– ‘लागुऔषध मुद्दामा म ११ वर्ष जेल परेँ । मलाई भेट्न आउँदा पनि मैले सान्द्रीमायाँलाई त्यही दिदीकोमा पठाएको थिएँ । पछि के भयो मलाई थाहा भएन । अहिले त विदेश पठाइदिने त्यो दिदी दमको कारण मृत्यु भई सक्यो रे । गाउँकै बहिनी हो, कसरी खोज्ने मलाई पनि चिन्ता छ ।’

प्रतिक्रिया दिनुहोस्