कृषि उत्पादन प्रवर्धनको लागि सुनखानी– मिलघुम्ति हाट सुरु



दोलखा।

ग्रामीण क्षेत्रमा हराउँदै गएको हाट– बजारलाई निरन्तरता दिन दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ सुनखानी– मिलघुम्तिमा बिहीबारबाट हाट लगाउन सुरु गरिएको छ ।

कालिञ्चोक गाउँपालिका, वडा नम्बर– ८ र हुराडेकको सहयोग तथा स्थानीय हाम्रो साना किसान कृषि सहकारी संस्थाको पहलमा हाट लगाउन सुरु गरिएको सहकारीका अध्यक्ष होम प्रसाद पाठकले बताए । विगतमा सुनखानीकै गुमुखोला हाट दोलखाकै चर्चित हाट मानिन्थ्यो अध्यक्ष पाठकले भने– सहरीकरण र सडकको पहुँचले गुमुखोला हाट झन्डै २५ वर्ष अघिदेखि विस्थापित बन्यो ।

स्थानीय किसानहरुको उत्पादनलाई स्थानीय स्तरमै व्यवस्थापनको लागि गुमुखोला हाटकै निरन्तरताको रुपमा सुनखानी– मिलघुम्तिमा हाट सुरु गरिएको अध्यक्ष पाठकले बताए । गुमुखोला हाट जस्तै सुनखानी– मिलघुम्ति हाट पनि प्रत्येक महिनाको १० गते र २५ गते लाग्ने हाट व्यवस्थापन समितिका संयोजक नन्दराज शिवा कोटीले बताए ।

झन्डै २५ वर्षपछि सुनखानीमा सुरु भएको हाटमा स्थानीय किसानहरुको उत्साहजनक सहभागिता रहेको थियो । कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ छर्कपुका कृषक दुर्गा प्रसाद शिवाकोटी सुनखानी– मिलघुम्तिको हाटले स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने बताउछन् । विगतमा गुमुखोला हाटमा हामी स्थानीय उत्पादन बिक्रीको लागि लाने गर्थ्यौ, दुर्गा प्रसादले भने– सुनखानी– मिलघुम्तिमा हाट सुरु भएपछि गुमुखोला हाटकै निरन्तरता ठानेका छौ ।

सुनखानी– मिलघुम्ति हाटमा स्थानीय उत्पादन आलु, काउली, सुन्तला, गोलभेडा, सिस्नु, बोडी, सिमी, केराउ, लसुन, प्याज, खुर्सानी, कागती, साग, लोकल कुखुरा, खसी– बोका, भुईकटर, मास, मस्याङ, दुग्धजन्य उत्पादन, डोको, खुकुरी लगायत राखिएको वडा नम्बर– ८ सुनखानीका वडा अध्यक्ष सूर्य बहादुर आचार्य (बालकृष्ण) ले बताए ।

हाटमा साग लगायतका उत्पादन लिएर आएकी  स्थानीय गोपिनी शिवाकोटी स्थानीय स्तरमा थोरै उत्पादन हुने कृषिजन्य वस्तुहरु बिक्रीको लागि ग्रामीण हाट प्रभावकारी हुने बताउँछिन्  । हाम्रो साना किसान कृषि सहकारी संस्थाको पहलमा सुरु भएको सुनखानी– मिलघुम्ति हाटमा धेरै महिला किसानहरु आफ्नो उत्पादन लिएर आउनु भएको छ, गोपिनी शिवा कोटीले भनिन् – स्थानीय हाटमा आफ्नो उत्पादन बिक्री गरेर ग्रामीण महिलालाई घर खर्चमा निक्कै टेवा पुग्न सक्छ ।

 

दोलखा जिल्लामा विगतमा भुलभुले, चरिकोट, गुमुखोला, छौडे, मेलुङ, जिरी, गुरुमफी, तिनेखु, सिंगटी, साङवा, भैसे लगायतका हाटहरु निक्कै चर्चित हुने गर्थे । स्थानीय उत्पादन सस्तोमा पाउन हाट निक्कै उपयोगी हुने मिलघुम्तिका होटल व्यवसायी रामजी घिमिरे बताउँछिन् ।

बिहीबार कालिञ्चोक गाउँपालिकाका प्रमुख अर्जुन शिवा कोटीले सुनखानी– मिलघुम्ति हाटको शुभारम्भ गरे । वडा नम्बर– ८ का वडा अध्यक्ष सूर्य बहादुर आचार्य (बालकृष्ण) को सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, हाम्रो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष होम प्रसाद पाठक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्