दोलखाको कालिञ्चोकमा र शैलुङमा हिमपात



दोलखा। 

दोलखामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोकमा बिहीबार हिमपात भएको छ । बिहीबार यो वर्षको चौथो पटक हिमपात भएको हो ।
बिहीबार साँझ पाँच बजेबाट हिमपात सुरु भएको कालिञ्चोकको कुरी स्थित होटेल सुनपातीका राजन क्षेत्रीले बताए ।

हिमपातको कारण कालिञ्चोक पुग्ने पर्यटकहरु रमाई रहेको क्षेत्रीले बताए । हिमपातले बिहीबार बेलुकासम्म सवारी साधन भने नरोकीएको स्थानीयले बताएका छन् । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो वर्ष फागुनको दोस्रो सातासम्म चार पटक हिमपात भई सकेको छ ।

यो वर्ष धेरै पटक हिमपात भएपनि धेरै समय हिमपात नभएकोले १/२ दिनमै हिउँ पग्लने गरेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको विभिन्न ठाँउ र भारतबाट समेत पर्यटकले होटेल बुक गर्न थालेको पर्यटन व्यवसायी एवं होटेल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।

शैलुङमा पनि हिमपात

दोलखाकै प्रसिद्ध शैलुङ क्षेत्रमा पनि बिहीबार हिउँसै देखि हिमपात भई रहेको स्थानीयले बताएका छन् । शैलुङ क्षेत्रमा बिहीबार दिउँसो तीनबजेबाटै हिमपात भई रहेको स्थानीय कालापानीको होटेल व्यवसायी मिस्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्