ललितपुरमा लगातार स्वास्थ्य शिविर



ललितपुर ।

ललितपुर महानगरपालिका – १६ वडा कार्यालय र अरनिको समाज मिलेर ललितपुरमा लगातार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच, नियमित स्वास्थ्य परीक्षणको बानी बसाल्नुपर्ने चेतना दिने उद्देश्यले फागुण ५ गते शनिबार मंगलबजारबाट स्वास्थ्य शिविरको शुरुआत गरिएको हो। सो शिविरमा डा. सर्वोत्तम श्रेष्ठले ७० जनाको हाडजोर्नी र नशा सम्बन्धी रोगको परीक्षण गरेका थिए ।आगामी चैत्र १० गतेसम्म प्रत्येक शनिबार गरी ६ वटा शिविर सञ्चालन हुने वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए ।

फागुण १२ शनिबार नकबहीलमा मधुमेह, सुगर र कालेस्टोरल जाँच गरिने छ। फागुण १९ गते नागबहालमा हाडजोर्नी र नशा, फागुण २६ गते बुबहालमा मुटुरोग र निशुल्क इको जाँच हुने समाजका कोषाध्यक्ष एवं डा. सुशील प्रजापतिले जानकारी दिए । त्यस्तै चैत्र ३ गते स्वठः नारायण मन्दिर परिसरमा स्त्री रोग र बाल रोगको परीक्षण र चैत्र १० गते मंगलबजारमा पेट तथा कलेजो, छाती रोग र जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य परीक्षण गरिने छ।

यस कार्यको लागि डा. सर्वोत्तम श्रेष्ठको नेतृत्वमा डा. सुशील प्रजापति, डा. बुद्धबहादुर कार्की, डा. मनिलरत्न बज्राचार्य,डा. शैलेन्द्र महर्जन, डा. प्रमोद देवकोटा,डा.दिपंकर प्रजापति,डा. नग्मा श्रेष्ठ, डा. दिपक राजभण्डारी, डा. उर्मिला शाक्य, डा अजला प्रजापति र डा कृष्णगोपाल महर्जन सम्मिलित टोली खटिएको छ ।

शिविरमा परीक्षण गर्न आउनेहरुलाई आवश्यकता अनुसार निशुल्क औषधी पनि वितरण गर्दै आएको पनि वडा कार्यालयले जनाएको छ। यस अघि २०७७ माघ र फागुणमा पनि वडाले समाजसंग मिलेर प्रत्येक शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो भने यसबाट ७ सय जना लाभान्वित भएका थिए।

प्रतिक्रिया दिनुहोस्