क्षयरोग अन्त्य गर्न लुकेका बिरामी खोज्नुपर्छ 



काठमाडौँ। 

क्षयरोग अन्त्यका लागि यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेको विज्ञहरुले बताएका छन्। विश्व सामाजिक मञ्चको अवसरमा हेल्थ टिभी अनलाइन र सिटिजन्स न्युज सर्भिसले संयुक्त रुपमा आयोजना गरेको क्षयरोग सम्बन्धी कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोग अन्त्य गर्नका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा पनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले क्षयरोग अन्त्य गर्ने हो भने पहिले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदाय समूदायमा गएर खोजौं । उनीहरुको रोग पत्ता लगाऔं अनि मात्र उपचारको कुरा आउँछ ।’

 उनले यसैपनि नेपालमा उपचारको सफलता निकै राम्रो भएको भन्दै समस्या निदानमै भएको जिकीर गरे । यसका लागि उनले मल्टी सेक्टोरल अप्रोच अपनाएर, सबै पक्ष मिडिया, युवा पुस्ता, सरकार, डोनर एजेन्सी मिलेर काम गरेमा लुकेर बसेको बिरामी पत्ता लाग्ने र उनीहरुलाई उपचारमा ल्याउने बित्तिकै क्षयरोग आफै कम हुँदै जाने बताए ।

यस्तै  कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले नपालमा क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम हुँदै आएको भए पनि अझै यसमा एक्स्ट्रा इफोर्ट लगाउनुपर्ने बताए । उनले हामीले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने हो भने अझ बढी काम गर्नुपर्ने र गाउँ गाउँमा गएर परीक्षण गर्नुपर्ने  बताए । यसो गर्न सकेमा मात्र लुकेर बसेका बिरामी हाम्रो सम्पर्कमा आउँछन् उनले थपे । डा श्रेष्ठका अनुसार हाल नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन जसमध्ये ४५ प्रतिशत बिरामी उपचारका छैनन्। सरकारले टीबी फ्री इनिसियटिभ कार्यक्रमलाई २५ बाट योवर्षदेखि १२५ स्थानीय निकायमा  पुराएको पनि उनले जिकीर गरे ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका एडभाइजर डा सागर राजभण्डारीले क्षयरोग नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता चाहिले बताए । क्षयरोग कार्यक्रम सहज रुपमा चलाउन सक्ने नेतृत्वलाई काम गर्ने वातावरण दिनपर्नेमा उनले जोड दिए । यसका सार्थ परीक्षणमा पनि आधुनिकता ल्याउनपर्नेमा उनको जोड थियो । यसैगरी ग्लोबल फन्ड कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनका सिनिअर टेक्निकल एडभाइजर डा आशिश श्रेष्ठले क्षयरोग अन्त्यका लागि सबै बिरामीले समान र समतामूलक रुपमा उपचारकोसेवा पाउनुपर्ने बताए । उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै धेरै बिरामी उपचारको पहुँचमा नहुनु हो ।’ पहुँचमा नभएका उनीहरु समक्ष कसरी पुग्ने भनेर काम गर्न जरुरी रहेको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा नेशनल युथ मुभमेन्ट अगेन्स्ट टु्बरक्लोसिसकी कार्यकारी निर्देशक मिलन कार्कीले क्षयरोग अन्त्यका लागि युवाहरुको भूमिका र सहभागिता अपरिहार्य भएको जिकीर गरिन्। उनले युवाहरुले धेरै हिसाबबाट प्रभाव पार्न सक्ने र उनीहरु बढी क्रियटिभ हुने भन्दै उनीहरुको उर्जा र जोशलाई क्षयरोग अन्त्यका लागि प्रयोग गर्न सके निकै फाइदा पुग्ने जिकीर गरिन् । उनले आफूहरुले स्वर्त स्फूर्त रुपमा  क्षयरोग अन्त्यका लागि संस्थागत रुपमै युवाहरुको समूह बनाई एडभोकेसी र सचेतनामा काम गरिरहेको बताइन्।

कार्यक्रममा विभिन्न मिडियामा कार्य  गर्ने सञ्चारकर्मी, प्राध्यापक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । भने उक्त कार्यक्रममा क्षयरोगमा काम गर्ने ग्लोबल संस्था स्टप टीबी पार्टनरशिपकी कार्यकारी निर्देशक डा लुसिका डुटुई र मोल्बायो डायग्नोष्टिकका अध्यक्ष सुमित्र मित्राको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्