वीर अस्पतालकै फार्मेसीमा छैनन् स्वास्थ्य बीमामा समावेश भएका औषधि



काठमाडौं ।

वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि पाइन छोडेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल सामान र सर्जरी गर्दा आवश्यक पर्ने औषधीहरूमध्ये आधाआधी औषधीहरू मात्र उपलब्ध रहेको, म्याद नाघेका औषधीको नियमानुसारको भण्डारण नभएको, अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधी उपलब्ध नरहेको पाइएको हो।

सरकारी अस्पतालहरूको फार्मेसीमा स्वास्थ्य बीमा, क्यान्सर, कडा रोग ठुलो शल्यक्रियाहरूको औषधी नराखी निजी फार्मेसीहरूमा किन्न बाध्य बनाउने गरेको र निजी फार्मेसीहरूले बिरामीहरूलाई दर्ता नभएका र कम गुणस्तरका औषधीहरू बेच्ने गरेको मन्त्रालयले जनाएको छ। यसले बिरामीको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक बोझ समेत बढ्न गएको गुनासो मन्त्रालयमा परेको छ।

यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताउँदै औषधी व्यवस्था विभागलाई यस सम्बन्धमा तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्