१८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चस्व



कास्की ।

 १८ औँ सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिवार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले वर्चस्व राखेका हुन् ।

म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोस्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरी तेस्रो भए । किप्लीगाट १७ औँ सस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।

खुला म्याराथनतर्फ पहिलो भएका जुलियासले नगद  ५ लाख, दोस्रो भएका इसाक किहाराले नगद ३ लाख, तेस्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगोटीले ३० हजार नगद हात पारे ।

त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

 

महिला २१ किमीतर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमी महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् ।

यस्तै पुरुष १० किमी दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोस्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेस्रो भएका सन्जिब नेपाली तेस्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे ।

महिला १० किमी दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोस्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेस्रो भएकी छन् ।

५ किछि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तेस्रो भइन् ।

५ किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  निम बहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्