तिखातल प्राविमा शैक्षिक मेला



दोलखा।

दोलाखको भीमेश्वर नगरपालिका वडा नम्बर– २ तिखातलमा रहेको तिखातल प्राथमिक विद्यालयले शुक्रवार एक दिने शैक्षिक मेला– २०८० सम्पन्न गरेको छ ।
व्यवहारिक शिक्षाको प्रवर्द्धन गर्दै दिगो सिकाइलाई प्राथमिकता दिने उदेश्यले शैक्षिक मेला– २०८० आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले बताए ।

शैक्षिक मेला– २०८० मा कक्षा– १ देखि  कक्षा– ५ सम्मका विद्यार्थीहरुले तयार गरेको माछा बनाउने खेल, वाटर साईकल, तानाग्राम खेल, भिन्न त्रिभुज बनाउने खेल, जिल्लाको नक्सा बनाउने तरीका, खानाका प्रकार छुट्टाउने तरीका, एक दलीय र दुई दलीय विउ छुट्टाउने तरीका लगायत समावेश गरिएको थियो । मेलामा अभिभावकहरुले उत्पादन गरेका कृषि सामग्री समेत राखिएको थियो ।

विद्यालयमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुने र हरेक वर्ष शैक्षिक मेला समेत सञ्चालन गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनम श्रेष्ठले बताए । शैक्षिक मेलामा विद्यार्थीले तयार गरेका विभिन्न शैक्षिक सामग्रीहरु राखिएको र त्यसले विद्यार्थीको उत्साहमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन कार्यक्रममा बागमति प्रदेश सांसद भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नगरका प्रवक्ता एवं वडा नम्बर– ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङ्करबाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तीर्थ बहादुर जोशी, शिक्षक भवानी खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्