अफ सिजनमा च्छो– रोल्पा पुग्ने पर्यटकलाई बासको समस्या



च्छो रोल्पा हिमताल र ना गाँउ 

दोलखा। 

 उच्च हिमाली भेगमा रहेको च्छो– रोल्पा हिमताल पुग्ने पर्यटकको संख्यामा पछिल्लो समय अत्यधिक वृद्धि भएको छ । दोलाखको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– १ मा रहेको यो हिमताल पदमार्गको लागि समेत महत्त्वपूर्ण मानिन्छ ।

सडक मार्ग छोडेर झण्डै तीन दिनको पैदल मार्ग पार गरी पुगिने च्छो– रोल्पा हिमतालमा पछिल्लो समय अफ सिजनमा समेत पर्यटक पुग्नथालेपछि उनीहरुलाई बस्ने र खाने समस्या हुने गरेको स्थानीय होटल व्यवसायी दावाछिरी शेर्पाले बताए ।

च्छो– रोल्पा हिमताल क्षेत्रमा अत्यधिक चिसो र हिमपातका कारण पुष अन्तिमदेखि फागुनको अन्तिमसम्म होटल तथा रेष्टुरेन्टहरु बन्दहुने गरेको छ, ना गाँउमा होटल ना भेली भ्यु गेष्टहाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका स्थानीय दावाछिरीले भन्नु भयो– तर यो सिजनमा समेत पर्यटक पुग्न थालेपछि उनीहरुलाई खाने र बस्ने समस्या हुने गरेको छ ।

सदरमुकाम चरिकोटबाट झण्डै चारघण्टाको सवारी यात्रामार्फत छ्योत– छ्योत पुगेपछि तीन दिनको पैदलयात्राबाट च्छो– रोल्पा हिमताल पुग्न सकिने स्थानीय होटल व्यवसायी दावाछिरीले बताए । छ्योत– छ्योत हुदै सिमिगाँउबाट उकालो लागेपछि प्रत्येक विश्राम स्थलमा होटल भएपनि अत्यधिक चिसो र हिमपातका कारण पुष अन्तिमदेखी फागुन अन्तिमसम्म सबै होटल तथा रेष्टुरेन्ट बन्द रहने दावाछिरीको भनाई छ ।

सिमिगाँउबाट उकालो लागेपछि साढे चार घण्टामा पुगिने उत्तिसेमा एक वटा, उत्तिसेबाट दुई घण्टामा पुगिने सुरमुचेमा एक वटा, सुरमुचेबाट साढे एक घण्टामा पुगिने केल्चेमा एक वटा, केल्चेबाट एक घण्टामा पुगिने डोङनाङमा तीन वटा, डोङनाङबाट तीन घण्टामा पुगिने ठाङडिममा दुई वटा, ठाङडिमबाट साढे दुई घण्टामा पुगिने बेदिङमा आठ वटा र बेदिङबाट साढे दुई घण्टामा पुगिने ना गाँउमा आठवटा होटल तथा रेष्टुरेन्ट रहेको दावाछिरीले बताए । ना गाँउबाट साढे दुई घण्टामा चार हजार पाँच सय ८० मिटर उँचाईको च्छो– रोल्पा हिमताल पुगिने र हिमताल घुमेपछि वासको लागि ना गाँउनै फर्कनु पर्ने दावाछिरीले बताए।

अहिले च्छो– रोल्पा जान गाँस र बासको समस्या छैन, हरेक विश्रामस्थलमा होटल तथा रेष्टुरेन्ट छ, दावाछिरीले भने– तर दुई महिना सबै होटल तथा रेष्टुरेन्ट बन्द हुने भएकोले यो सिजनमा पर्यटकहरु आउँदा विचार पु¥याउनु पर्ने हुन्छ ।

अहिले एक सिजनमा पाँच हजारसम्म पर्यटक पुग्ने गरेको र त्यसमा दुई-तीन सय विदेशी पर्यटक हुने स्थानीय होटल व्यवसायीको भनाई छ । च्छो– रोल्पा यात्राको क्रममा वास बसेको प्रतिव्यक्ति पाँच सय रुपैया लिने गरिएको र खानाको लागि सबैभन्दा माथि ना गाँउमा छ सय, बेदिङमा पाँच सय र त्यस भन्दा तलतिर चार सय पचास रुपैया लिने गरिएको होटल व्यवसायीहरुले बताएका छन् । च्छो– रोल्पा क्षेत्रमा मासु बने प्रतिबन्धित रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्