धुलिखेलमा आयोजित स्वास्थ्य शिविरमा १२ सयले लिए सेवा



काठमाडाैं ।

धुलिखेलमा काठमाडौँ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा एकै दिन १ हजार २ सय भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएकाे छ  ।

शिविरमा कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ र विशेष अतिथि काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको स्वास्थ्य जाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौँ मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा माघ २९ गते सोमबार सञ्जीवनी नमुना माध्यमिक विद्यालय प्रांगण धुलिखेलमा स्थानीय वासीहरूको लागी बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच सम्पन्न  गरियाे ।

स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिश्चित गरौँ । भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाड जोर्नी, नशा, बाल रोग, स्त्रीरोग, जनरल फिजिसियन सम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्श अनुसार ल्याब सेवा प्रदान गरिएको थियो ।

शिविरमा उपस्थित अधिकांश बिरामीले एकै थलोमा यति धेरै सेवा निःशुल्क रुपमा उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक लगायत सहयोगी संघसंस्थाहरुलाई धुलिखेल कल्याणकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदर पत्रद्वारा सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्