कर्मचारी सरुवा गरेपछि विवादित सिद्धलेक गाउँपालिका



धादिङ।

धादिङको सिद्धलेक गाउँपालिकाले डेढ वर्षको अबधिमा प्रमुख प्रशासकीय अधिकृत  र अन्य कर्मचारी सरुवामा देशभरिमै रेकर्ड कायम गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडा निर्वाचित भएर आएपछि पाँचौँ  पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ।

चालू आर्थिक वर्षको सुरुवातमै लामो समयदेखि काम गरिरहेका शिक्षक, स्वास्थ्य कर्मी, प्राविधिक तथा अन्य कर्मचारीलाई राजनैतिक प्रतिशोधको आधारमा जबर्जस्त पद बाट हटाएर आफ्नो बास्तबिक चरित्र देखाएका अध्यक्षले आफ्नो निहित स्वार्थका लागि कर्मचारी सरुवाको आतंक मच्चाउँदै आइरहेका छन्।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अहिलेसम्म हटाएका प्रमुख प्रशासकीय अधिकृतहरुमा नन्दलाल पौडेल, राममणी मिश्र, नारायण प्रसाद अधिकारी, राजन फुयाँल र सञ्जय बहादुर स्याङतान रहेका छन् ।

 सिद्धलेक गाउँपालिका अध्यक्षले कर्मचारी टिक्नै नदिने मुख्य कारण भनेको उनीमा  राजनैतिक शैली संस्कार नहुनु हो ।
अन्य कारणमा  कानुनमा बलमिच्च्याई गर्ने, जनहितका काममा ध्यान नदिने जस्ता समस्याले गर्दा २ महिनादेखि ६ महिना भित्र स्थायी दरबन्दीका कर्मचारी , प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने गरेका छन्।

आफूले भने जसरी मनोमानी गरेर बजेट चलाउन नपाएपछि दरबन्दीको लेखा अधिकृतको सरुवा गरेर अध्यक्षले नयाँ शहरी विकास कार्यालय गल्छीको लेखापाललाई काजमा ल्याएर कार्यालयमा काम लगाएका छन्।

यो आर्थिक वर्षमा सिद्धलेकमा कर्मचारी सरुवाको आतंकनै मच्चिएको छ, शुक्रबारनै प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्गतान र ४ नम्बर वडाका सचिव लोकराज बराल बिदाई भएका छन्। वरिष्ठ  शाखा अधिकृत हरि बहादुर पाटा मगरको सिन्धुलीको दुधौली नगरपालिका सरुवा भईसकेको छ।
आफूले भने जसरी कार्यक्रम नचलाएको भन्दै महिला बालबालिका शाखा प्रमुख कविता भट्टको पनि गत महिना अध्यक्षले जबरजस्ती सरुवा गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्