एकै दिन रोकियो चार बालविवाह



हेटौंडा ।

मकवानपुरमा एकै दिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। बिहीबार एकै दिन चार बालविवाह रोकिएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो।

कैलाश गाउँपालिका—३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका—३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो।

मनहरी गाउँपालिका–४ की १५ वर्षीया बालिका र हेटौंडा–३ बसामाडीका १८ वर्षीय बालकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ।

मकवानपुरगढी गाउँपालिका–२ की १८ वर्षीया र हेटौंडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिनुभयो। बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उहाँले बताउनुभयो।

१३, १४, १५ र १८ वर्षीया बालबालिकाहरूलाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिनुभयो।

जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको हो।

कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन्। अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताउनुभयो। यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ।

अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहुँदा बालविवाह रोक्न सकिएको छैन। जनप्रनितिनिधि र बाल हेल्पलाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो।

जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकाससँगै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उहाँले सुझाउनुभयो। आव २०७९/०८० मा कैलाश गाउँपालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ।

राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएको छ। मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफलता मिलेको छ। मकवानपुरमा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्ने सफलता प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्