एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी



दोलखा। 

नेकपा एमाले दोलखाको दशौँ  जिल्ला अधिवेशनबाट अध्यक्षमा आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । उनले पार्टीका नेता ईश्वरचन्द्र पोखरेललाई ९५ मतको अन्तरले पराजित गरेका छन् ।

श्रेष्ठले तीन सय ३३ मत प्राप्त गर्दा पोखरेलले दुई सय ३८ मत प्राप्त गरेका थिए । निर्वाचनको क्रममा दुई कित्तामा विभाजित दोलखा एमालेमा श्रेष्ठलाई पार्टीको पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङको समर्थन रहेको थियो भने पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेलको समर्थन रहेको थियो । ईश्वरचन्द्र पोखरेल यस अघि दुई पटक पार्टीको प्रमुख भै सकेका छन् । अध्यक्षका अर्का प्रत्याशी भरत दुलालले ३८ मत प्राप्त गरेका छन् । दुलाल पार्टीको नवौँ जिल्ला अधिवेशनमा नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए ।

त्यसैगरी पार्टीको उपाध्यक्ष, सचिव र महिला उपसचिवमा पनि पोलिटब्युरो सदस्य गुरुङ पक्षका उम्मेदवार नै विजयी भएका छन् । उपाध्यक्षमा आयोजक समितिका सहसंयोजक राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धर तीन सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी पूर्व सचिव हिराकुमार थोकरले दुई सय ६३ मत प्राप्त गरेका छन् । थोकर अहिले दोलखाको मेलुङ गाँउपालिकाका प्रमुख हुन् ।

त्यसैगरी सचिवमा गुरुङ पक्षका स्वयम बहादुर खड्का विजयी भएका छन् । खड्काले तीन सय चार मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कृष्णबहादुर बस्नेतले दुई सय ८४ मत प्राप्त गरेका छन् । बस्नेत नवौँ अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । उपसचिवमा भने पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल पक्षका हरि ओली विजयी भएका छन् । ओलीले एक सय ६१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी विदुर शर्माले एक सय ४५ मत प्राप्त गरेका थिए । शर्मालाई भने जिल्लाको कुनै पनि नेताको समर्थन रहेको थिएन । उपसचिवमा पोलिटब्युरो सदस्य गुरुङको समर्थन रहेको ईश्वर न्यौपानेले एक सय १४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपसचिवमा टपेन्द्र खड्काले ७२ र धनबहादुर तमाङले ६४ मत प्राप्त गरेका छन् ।

उपसचिव महिलामा गुरुङ पक्षको कमला बस्नेत दुई सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी पोखरेल पक्षको मेनुका सुवेदीले एक सय ९५ मत प्राप्त गरेकी थिइन । बस्नेत नवौँ अधिवेशनमा पनि उपसचिवमै विजयी भएकी थिइन । उनी हाल भीमेश्वर नगरपालिकाको उपप्रमुख हुन् । महिला उपसचिवमा गोमा केसीले ७१ र सिता केसीले ३४ मत प्राप्त गरेका छन् ।

अधिवेशनमा पार्टीको भूगोल तथा विभिन्न क्षेत्रबाट छ सय २६ प्रतिनिधि चुनिएर आएकोमा छ सय १४ मत खसेको थियो । खसेको मतमा पाँच सय ८४ मत सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्