डा. ओम फाउन्डेसनद्वारा देशव्यापी विद्यालयस्तरीय धुम्रपानविरुद्ध प्रतियोगिता



काठमाडाैं  ।

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ ।

प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति ‘अनिल’ले ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियान सञ्चालन गर्दै आएका छन् । ​

विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कूल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ ।

फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

कविता प्रतियोगिता​

धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्ने छ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ ।

१२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइपुग्नुपर्ने छ ।

बाल चित्रकला प्रतियोगिता

धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्नेछ ।

चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ ।

सहभागी मध्येबाट एक जना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । ​

हाजिरी जवाफ प्रतियोगिता

धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तीमा एउटा छात्रा अनिवार्य गरिएको छ ।

सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ ।

सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबीच ‘भर्चुअल’ जुममार्फत् र्‍यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेकोररोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।

छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रतिप्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूहमध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबूक लाइभ हुनेछ ।​

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा। ओम फाउन्डेसनको फेसबूक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ ।

सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन ९वैकल्पिक नम्बरसहित०, इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ ।

प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्