कृषि, पर्यटनको सम्भावनामा सिलीचोङ गाउँपालिका



काठमाडौं ।

कोशी प्रदेश, संखुवासभा जिल्लामा पर्ने सिलीचोङ गाउँपालिकाका नेपालका ७ सय ५३ ओटा स्थानीय सरकारमध्येको एक हो। सिलीचोङ हिमालको नामबाट यस पालिकाको नामकरण गरिएको हो। यो हिमाल अत्यन्त मनमोहक छ।

यो हिमाल धार्मिक आस्था र विश्वासको धरोहर पनि हो । यस हिमालको पदयात्रा आन्तरिक र वाह्य पर्यटकका लागि निकै रोमाञ्चक छ। अति नै सुन्दर पहाडी जिल्लाको पालिकाकारूपमा रहेको यस गाउँपालिकाको सदरमुकाम ताम्कुमा हो। संखुवासभाको खाँदवारीबाट अरुणनदी तरेपछि यस पालिकामा पुगिन्छ।

अरुण नदीमा पक्की पुल निर्माण हुन नसक्दा यो पालिका निकै दुर्गम जस्तो देखिएको छ । यर्थाथमा भौगोलिक रूपमा अत्यन्त सुन्दर यस पालिकामा पदयात्राको प्रवल सम्भावना छ। मकालु बरुण संरक्षित क्षेत्रमा पर्ने यस पालिकामा अति महँगो कालो सुनले चिनिने अलैंची उत्पादन हुने गरेको छ।

यसै गरी, रुद्राक्षका लागि पनि यो पालिका विख्यात छ । यसका अतिरिक्त, अल्लोका लागि पनि यो पालिका नामुद छ । यथार्थमा, अलैंची, रुद्राक्ष र अल्लोको व्यबसायीक खेती र कारोबारलाई व्यापकता दिने हो भने यो पालिकामा आर्थिक समृद्धि भित्रिन खासै समय लाग्ने देखिन्न।

संखुवासभा जिल्लाको सुदूरउत्तरमा रहेको यस पालिका साविकका सिसुवाखोला, बाला, माड्ङतेवा, ताम्कु र यापूm गाविस मिलेर स्थापना भएको हो । भौगोलिक रूपमा बिकट भए पनि सामाजिक, सांस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउँपालिका वातावरणीय दृष्टिकोणले बसोवासका लागि उत्कृष्ट रहेको छ ।

यस गाउँपालिकाको दक्षिण सिमानामा अरुण नदी पर्दछ भने मुख्य नदीका रूपमा संखुवा खोला रहेको छ । यसका अलावा यस पालिकाभित्र सिसुवा खोला पनि रहेको छ । यस पालिकाको पूर्वी भागमा मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दछ भने उत्तरतर्फ चम्लांग, दिग्लिंग, संखुवासिर र नौलेखजस्ता रमणीय हिमालहरू रहेका छन् ।

यस पालिकाको जनसंख्या करिब १० हजार रहेको छ । यस पालिकाका करिब ८१ प्रतिशत जनसंख्या साक्षर रहेका छन् । यस पालिकामा हिन्दु, बौद्ध, र किरात धर्मावलम्बीहरू रहेका छन् । यस पालिकामा दशैँ, तिहार, साउने संक्रान्ती, संसारी पूजा, ल्होसार, चाक्चाकुर, उधौली र आइबारे पूजाजस्ता पर्वहरू धुमधामका साथ मनाउने गरिन्छ । यस पालिकामा कुलुड, मेवाहाड, थुलुंग, दुमी, चाम्लिड, नाछिरिड, राई, शेर्पा, तामाड, विश्वकर्मा, दमाई, क्षेत्री र ब्राह्मण जातिको बसोबास रहेको छ ।

समावेशी विकास, सामाजिक न्याय र पृथक पहिचान समृद्ध समाजसहितको गुणस्तरीय पूर्वाधार सिलीचोङ गाउँपालिकाको अभियान भन्ने नारासहित यो पालिका आम जनतालाई घरदैलोमै सिंहदरबार आएको अनुभूति दिलाउन दत्तचित्त रहेको छ।

संघीय गणतन्त्र आउनुपूर्व कुनै पनि प्रकारको मोटर बाटो नभएको यस पालिकामा हाल सबै ५ ओटै वडामा मोटर बाटो पुगेको छ। तर, यी सडकहरू कच्ची हुनु र अरुण नदीमा पुल नहुँदा यो पालिका दुर्गम देखिएको हो । कम्तीमा पालिकाको सदरमुकाम ताम्कुसम्म कालोपत्रे सडक र अरुणमा पुल भएमा यो पालिका खाँदवारीसँग सहज पहुँचमा पुग्नेछ ।

भुपालराज मेवाहाङ यस पालिकाको अध्यक्ष हुनुहुन्छ । हालै यस पालिकामा आयोजित जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृत्ति तालिममा उहाँले निकै उत्साहका साथ आफूले सिक्न चाहेको, पालिकाको विकासका लागि स्रोतहरू जुटाउन खोजेको, आम जनताको ओठमा खुसी भर्न लागिपरेको र विकास निर्माणको कामलाई तीव्रता दिन दृढ रहेको अभिव्यक्ति निकै उत्साह र इमान्दारिताका साथ प्रस्तुत गर्नुभएको थियो ।

यस पालिकाको उपाध्यक्षमा देबिता कुलुङ रहनुभएको छ । उहाँ पनि युवा नेत्रृ हुनुहुन्छ । उहाँले पनि क्षमता अभिवृद्धि कार्यक्रममा पालिकालाई सबैको सहयोग र समन्वयबाट सञ्चालन गरी पालिकाको समृद्धिका लागि अहोरात्र खटिएको कुरा बताउनुभएको छ।

पाँच वडामा विभक्त यस पालिकाका पाँचै जना वडा अध्यक्षहरू प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहनुभएको छ । यसै गरी, कार्यपालिका सदस्यहरू र वडा सदस्यहरू पनि जनताको सेवामा निकै दत्तचित्त रहेको पाइन्छ। साथै, यस पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच असल सुसम्बन्ध रहेकोले कामले गति लिएको महसुस गरिएको छ ।

यस पालिकामा बाबुनन्दन मेहता प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । करिब आधा दर्जन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसक्नुभएका निकै अनुभवी मेहताले पालिकाको प्रशासनिक काम कारबाहीलाई चुस्त र दुरुस्त तुल्याउनुका साथै राजनीति र प्रशासनबीच उचित तालमेल गरिरहनुभएको छ ।

यस पालिकाका असल अभ्यासलाई नियाल्दा संघीयता अघि सडक यातायातबाट बञ्चित रहेको यस पालिकाको सबै वडामा यातायातको साधन पुग्ने गरी स्थानीय सरकारबाट कच्ची सडकको प्रबन्ध गरिएको छ । साथै, स्थानीय सरकारबाट करोडौंको लगानीमा पक्की पुल र बेलिब्रिज एवं झोलुड्डे पुल निर्माण भइरहेको छ । यसै गरी, संघीयता आउनुअघि सञ्चार सेवाबाट वञ्चित यस पालिकामा स्थानीय सरकारको पहलमा वडा नं. २ को वालामा नेपाल टेलिकमको जीएसएम टावर जडान गरी मोबाइल सेवा सञ्चालनमा आएको छ । साथै, पालिकाले अन्य स्थानमा पनि मोबाइल टावर राख्न विशेष पहल जारी राखेको छ ।

पक्की भवनको अनुहार हेर्नबाट बञ्चिति यस पालिकाका जनताहरू स्थानीय सरकारबाट करोडौंको लगानीमा गाउँपालिका भवन, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय निर्माण तथा बिस्तारलगायतबाट प्रशन्न भएका छन् । स्थानीयवासीको स्वास्थ्य तथा पोषण अवस्थामा ह्रास आउन नदिन यस पालिकाले आयोडिनयुक्त नुनको ढुवानी निशुल्क गरिआएको छ।

यस पालिकाले नागरिक सहायता कक्षा सञ्चालन कार्यविधि पारित गरी सबै वडामा हेल्पडेक्सबाट विभिन्न सेवा प्रदान गरिआएको छ । जसअनुसार, यस पालिकाका जनतालाई विद्युत् सेवाको बिल अनुसारको रकम तिर्न सदरमुकाम जाने वाध्यता हटेको छ। विद्युत् सेवा, डिसहोमको बिल, मोबाइल रिचार्जलगायतको भुक्तानी गर्न वडा कार्यालयहरूले सघाउँदै आएको छन् ।
सिलीचोङ गाउँपालिकाले सेवा प्रवाहमा स्थानीय भाषामा सहजीकरण गरिआएको छ।

यो अन्य पालिकाका लागि पनि अनुशरणयोग्य छ । साथै, सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन, फारामलगायतको कामको लागि निशुल्क रूपमै निवेदन लेखी दिने व्यवस्था पनि यस पालिकाले मिलाएको छ । यसै गरी, आम सेवाग्राहीलाई निशुल्क रूपमा इमेल इन्टरनेट सुविधा पनि पुर्‍याइएको छ।

साथै, पालिकाले सबै विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायलगायतमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउनुका साथै माविहरूमा इन्टरनेट सेवा एवं कम्प्युटर शिक्षकको व्यवस्था पनि गरेको छ ।

भौगोलिक रूपमा बिकट रहेको यस पालिकाका जनताको मागका आधारमा ससाना योजना जस्तै कुलो, खानेपानी, गोरेटो, शौचालय आदिको निर्माण गर्न एक लाखदेखि पाँचलाखसम्मको बजेट विनियोजन अनुसार उपभोक्ता समूहबाट गरिने काममा सम्झौताका लागि जनतालाई सास्ती नदिई स्वयं पालिकाबाट नै डोर खटिई वडामै गएर योजना कार्यान्वयन सम्झौता गर्ने परिपाटी बसालिएको छ ।

यस पालिकाले स्थानीय उत्पादनको प्रबद्र्धन गर्न अल्लोको कपडा, रुद्राक्षको माला, सयपत्रीको माला, अल्लोको खादाको प्रयोग गरिआएको छ । साथै, युवाहरूलाई लक्षित गरी आयआर्जनका सीपमूलक तालिमहरू सञ्चालन गरिएको छ। यस्ता तालिममा अल्लोको कपडा उत्पादन, बासका सामग्री उत्पादन, कम्प्युटर तालिम आदि रहेका छन्।

यस अतिरिक्त, यस पालिकाले बालबालिकालाई जीवनोपयोगी सीप, लोक सेवा र शिक्षा सेवा आयोगको परीक्षाको तयारी कक्षा, बाल अधिकार, बालविवाह, बालश्रम, आत्महत्याबाट बच्ने उपांय, साईवर क्राइमलगायतका विषयमा पनि प्रशिक्षण प्रदान गरेको छ।

यस पालिकाले आम जनताको हितलाई ख्याल गरी स्थानीयलाई राजस्व तिर्न, व्यवसायको नवीकरण गर्न पालिकासम्म आउन नपर्ने गरी घर घरमै राजस्व संकलन गर्न डोर टोली खटाउने गरेको छ । यसबाट सरोकारवाला जनताले राहतको महसुस गरेका छन् भने पालिकाको राजस्व वृद्धि भएको छ । यस पालिकाका सबै वडामा कृषि र पशुका प्राविधिकहरू खटिएका छन् । यसबाट कृषि र पशुपालको विकासमा प्रत्यक्ष टेवा पुगेको छ ।

यस पालिकामा शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय शिक्षक र विद्यार्थीको अवस्था बुभ्mन जनप्रतिनिधि, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिसहितको संयुक्त टोलीले अनुगमन गर्ने प्रणाली विकास गरिएको छ । यसै गरी, यस पालिकाले एसईई परीक्षा दिने विद्यार्थीलाई अंग्रेजी, गणित र विज्ञान विषयमा कोचिङ कक्षा सञ्चालन गरेको छ । साथै, ती विद्यार्थीहरूलाई परीक्षा दिन जादा परीक्षा केन्द्रमा खाने बस्ने प्रबन्ध गरेको छ ।

यस पालिकाको पाँचै वडा वडाभित्र पर्ने गरी १४ स्थानमा स्वास्थ्य संस्था स्थापना गरिएको छ । यस पालिकामा मेडिकल अफिसर, अप्थालमिक र ल्याव असिस्टेन्ट, रेडियोग्राफरबाट सेवा प्रवाह भइरहेको छ। यसै गरी, मेडिकल अफिसरको नेतृत्वमा मासिक रूपमा वडामा घुम्ती शिविर सञ्चालन गरिनुका साथै वार्षिक रूपमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन हँुदै आएको छ।

साथै, पालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालन गरेको छ। यसरी बर्थिङ सेन्टरमा डेलिभरी गराउने आमा र कुरुवालाई पालिकाले निशुल्क बस्ने खाने प्रबन्धसमेत गरेको छ। यसबाट आमा र शिशुको मृत्युदर घटेको छ।

साथै, यस पालिकाले दीर्घरोगीलाई पचास हजारसम्मको स्वास्थ्य उपचार अनुदान दिने गरेको छ। स्वास्थ्य सेवा क्षेत्रमा यस पालिकाले सम्पादन गरेको उत्कृष्ट कामको आधारमा यो पालिका जिल्लामै दुईपटक प्रथम र एकपटक दोस्रो हुन सफल भएको छ।

अन्त्यमा, यस पालिकाको कामलाई अझ प्रभावकारी तुल्याउन पालिकाले राजनैतिक दल, बुद्धिजीवी लगायतसँग निरन्तर छलफल गरिरहेको छ । यी असल अभ्यासहरू अन्य पालिकाका लागि पनि अनुशरणयोग्य छन्।

प्रतिक्रिया दिनुहोस्