कर्णालीका खेलाडीलाई कर्णालीको पहिचान झल्किने पोसाक



सुर्खेत ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूका लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ। पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ वन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडीबुटीको आकृति राखिएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरेबमोजिम कर्णालीका खेलाडीहरूको लागि खेल पोसाक र मार्चपास पोसाक बनाएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल बताए।

सदस्य सचिव संज्यालका अनुसार खेल पोसाक रातो र नीलो गरी दुई रंगमा छ। मार्च पास पोसाक एउटा रंगमा छ। गेम पोसाक र मार्चपास पोसाक महिला र पुरुष दुवै खेलाडीहरुले लगाउन मिल्छ। पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिह्न राखिएको छ।

पार्चपास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ। खेल पोसाकमा कर्णाली नदी,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ वन्यजन्तु याक राखिएको छ।

खेल पोसाकमा समेटिएको रातो रंग,नेपालको झण्डा र नीलो रंग रारा, कर्णाली बोर्डरसँग मिल्ने भएकाले दुई रंग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव संज्यालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्