डा. ओम फाउन्डेसनले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ गर्दै



काठमाडौं ।

डा. ओम फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गर्ने भएको छ। फाउन्डेसनले कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्ने जनाएको छ।

नेपाली भाषामा रचना गरिएको कविता गद्य वा पद्य छन्दमा लेखिएको र २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ। कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा पठाउनु पर्ने जनाइएको छ।

प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको ठेगाना, सम्पर्क फोन, इमेल, फोटो विद्यार्थी परिचयपत्र समावेश गर्नुपर्ने छ।

फाउन्डेसनमा दर्ता भएका कविता मध्येबाट विज्ञहरूको निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गरी पाँच जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी पुरस्कृत गरिने फाउन्डेसनले जनाएको छ। पुरस्कृत रचनाकारलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ।

सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन् ‘ दुई हप्ते सचेतना मूलक अभियान सञ्चालन गर्दै आइरहेका छन्।

विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ। फाउन्डेसनले सोही उद्देश्यका साथ धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले बताए।

‘पछिल्ला दिनमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै शुरू गर्ने घटना बढेको छ। किशोरावस्थाका विद्यार्थीहरू कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ । तसर्थ, विद्यार्थीलाई धुम्रपान र सुर्ती सेवन हानीकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य छ।’ डा. अनिलले भने–‘विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन्। साथै घर परिवार, आफन्त र साथीभाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन्।’

पूर्व प्रकाशित वा अरुको रचना साभार गरिएको कविता प्रतियोगितामा सामेल नगरिने फाउन्डेसनले जनाएको छ।

विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’का प्रावधान
(क) कविता धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक हुनुपर्नेछ ।
(ख) कविता नेपाली भाषामा रचना गरिएको गद्य वा पद्य छन्दमा २५० शब्दभित्रको हुनुपर्नेछ । पूर्वप्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य हुने छैन ।
(ग) हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखेर वा शुद्वसँग नेपाली टाइप गरी २०८० माघ २७गतेभित्र फाउन्डेसनको इमेलमा आउनुपर्नेछ ।
(घ) प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनसक्ने छन् । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन, इमेल, फोटो र विद्यार्थी परिचयपत्र पनि समावेश गर्नुपर्नेछ ।
(ङ) फाउन्डेसनमा दर्ता भएका कवितामध्येबाट विज्ञ निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गर्नेछ । साथै दर्ता भएका सबै कवितालाई फाउन्डेसनले प्रकाशित गर्न सक्नेछ ।
(च) सहभागी ५ जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्