नेपालमा क्यान्सर रोगबाट बर्षेनी १३ हजारको मृत्यु हन्छ : डा.सुदीप



काठमाडौँ। 

 नसर्ने रोग क्यान्सरबाट नेपालमा  बर्षेनी २० हजार नयाँ बिरामी थपिने र १३ हजारको मृत्यु हुने गरेको छ । विश्व क्यान्सर दिवस विश्व भरि मनाइरहँदा नेपालमा भने कानुनको अभावमा क्यान्सरका बिरामीले समयमा औषधि नपाएर मृत्युबरण गर्न बाध्य छन् । तर, यस विषयमा सरकारको ध्यान पुग्न नसकेको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा.सुदीप श्रेष्ठ बताउँछन् ।

उनी भन्छन् –क्यान्सर नियन्त्रण कार्यक्रम तथा खोजी अनुसन्धानको विषय नेपालको नीतिमै छैन । राष्ट्रिय रुपमा नीति नबनेसम्म क्यान्सर नियन्त्रण सम्भव छैन । यति मात्र नभै नेपालमा क्यान्सरको नयाँ नयाँ औषधि दर्ता नै छैन । सरकारसँग नयाँ औषधि भित्र्याउन दर्ता प्रक्रिया अत्यन्तै जटिल बनाईएकोछ । क्यान्सर उपचार नेपालमै हुन्छ, तर सरकारले बनाएका यी जटिल नीतिका कारण नेपालमा बसेर नयाँ नयाँ औषधि खरिद गर्न सर्वसाधारणले सक्दैनन् पहुँचवालाले मात्र विविध बाटो अपनाई खरिद गर्छन् ।

क्यान्सर रोग प्रत्येक बर्ष बढ्दो क्रममा छ । बर्षेनी १३ हजार नेपाली क्यान्सर रोगका कारण मृत्युवरण गरिरहेका छन् । नेपालमा भएका क्यान्सर उपचार केन्द्रमा आवश्यकता अनुसार जनशक्ति, उपकरण, औषधि लगायतका समस्या कायमै छ । समयमै उपचार गरे वयस्कमा हुने ५० प्रतिशत क्यान्सर निको हुन्छ।  तर, नेपाल सरकारको ध्यान नेपालमै उपचार गराउने तर्फ केन्द्रित भएको छैन । कतिपय बिरामीलाई नेपालको झन्झटिलो प्रक्रियाले गर्दा उपचारका लागि विदेशीन प्रोत्साहित गर्नेको संख्या पनि  उत्तिकै रहेको डा.श्रेष्ठ बताउँछन् ।

क्यान्सर रोग बढ्नुको प्रमुख कारणमा खानपान, रहनसहन, सुर्तीजन्य पदार्थ, मादक पदार्थ, रातो मासु, बोसो लगायत चिल्लो पदार्थ बढी खाने र व्यायाम नगर्ने जस्ता विषय बढ्दो क्रममा छन् । खानपान बाल्य अवस्था देखिनै सुधार्ने हो भने ५० प्रतिशत क्यान्सर रोग लाग्नबाट बच्न सकिने डा. श्रेष्ठ बताउँछन् ।

 वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर बिरामी सिफारिसका लागि जाने गरेको बताउँछन्  । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्याङ्क रहेकोमा यो वर्ष २ सय पुगिसकेको जानकारी उनले  गराए ।

नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि प्रशिक्षण दिनेक्रममा नेपालमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको पाइएको बताए ।

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सहआयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानेले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरुको संख्या बढिरहेको बताए ।

नेपालमा कुल मृत्युको ११ दशमलव  ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको तथ्य विश्व क्यान्सर दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेका एक कार्यक्रममा जानकारी गराइयो  । नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशतले बढिरहेको मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए ।  उनले सन् २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो भने । मरासीनीका अनुसार नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सरहरू रहेका छन् ।

नेपाल क्यान्सर अस्पतालका अध्यक्ष श्रेष्ठका अनुसार महिला र पुरुषमा हुने फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्