११ वर्षमा १२ सय मिर्गौला प्रत्यारोपण



काठमाडौं ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ वर्षमा १ हजार २ सय बिरामीको मिर्गौला प्रत्यारोपण गरी कीर्तिमान कायम गरेको छ।

पछिल्लोपटक गत शुक्रवार ३९ वर्षीया श्रीमान्लाई उनकी ३४ वर्षीया श्रीमतीले मिर्गौला दान दिएकी थिइन्। प्रत्यारोपण केन्द्रले यसको श्रेय केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठलाई दिँदै उहाँको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताले सम्भव भएको बताएको छ।

आफ्नो नाममा जग्गा र भवन नभएको यस केन्द्रले नेपालको प्रत्यारोपण चिकित्साको ८० प्रतिशत हिस्सा ओगटेको छ।

स्थापनाको ११ वर्षमा १ हजार २ सय वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपणमा ९९ प्रतिशत सफलता हासिल गरेको जनाएको छ।

साथै केन्द्रले २०८० सालमा मात्र १० जनाको कलेजो प्रत्यारोण गरिसकेको छ भने आगामी साता थप २ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पूरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो।

नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्