ताइवानको अन्तर्राष्ट्रिय मेलामा नेपाल चौथो



हेटौंडा ।

ताइवानमा शुक्रबार सम्पन्न ‘ताइवान इन्टरनेसनल साइन्स फेयर’ मा नेपालले इञ्जिनियरिङ विधामा चौथो स्थान हासिल गरेको छ ।
माघ १४ देखि १९ गतेसम्म भएको अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालका तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौंडाका कक्षा–१२ मा अध्ययनरत् शाश्वत् वाइबाको कृषि–प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो ।

गणित, रसायनशास्त्र, इञ्जिनियरिङलगायत फरक १३ विधा समेटिएको प्रदर्शनीमा जापान, अमेरिका, सिंगापुर, न्युजिल्याण्ड, स्विट्जरल्याण्डलगायतका २७ भन्दा बढी देशका राष्ट्रियस्तरबाट छनोट भएका युवा वैज्ञानिक विद्यार्थीको सहभागिता थियो ।

२० वर्ष भन्दा कम उमेरका उच्चशिक्षामा अध्ययनरत् राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विद्यार्थीका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्धेश्यसाथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालयमातहत नेसनल ताइवान साइन्स एजुकेसन सेन्टरले विज्ञानप्रविधि मेला आयोजना गर्दै आएको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरुलाई प्रदर्शन गरिने प्रदर्शनी मेलामा यस वर्ष ६ सय ३० विद्यार्थी अनुसन्धानकर्ताहरुद्वारा ३ सय ५९ वटा विज्ञान, सूचनाप्रविधि, नवप्रवर्तनसम्बन्धि अनुसन्धानका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३ सय ४ वटा राष्ट्रिय प्रोजेक्टहरु समाबेश गरिएका थिए ।

विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउन विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्दै आएको एस्ट्रोनोभा फाउन्डेसन नेपालले दरखास्त आह्वान गरी प्रतिस्पर्धामार्फत् वाइबाको अनुसन्धानात्मक प्रोजेक्ट छनौट गरी ताइवानमा नेपाललाई प्रतिनिधित्व गराएको हो । वाइबाले गत वर्ष ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनद्वारा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधि प्राप्त गरेका थिए । फाउन्डेसनबाट अध्यक्ष किसन बाँस्तोला र आयुष बस्नेतको पर्यवेक्षणमा वाइबासहित टोली माघ १३ गते ताइवान गएको थियो ।

‘कृषकले उक्त मोबाइल एप्लिकेशनमार्फत् बोटबिरुवाको स्क्यान गरेर बिरुवामा लाग्नसक्ने रोग, लागिसकेको अवस्थामा उपचार विधि थाहा पाउन सक्छन्,’ वाइबाले भने–उत्पादनमा बृद्धि गर्न आवश्यक जानकारी पाउन सकिने हुँदा यो कृषकका लागि निकै लाभदायी छ । वाइबाले एप्लिकेसनले कृषकहरुलाई बालीनालीमा लाग्नसक्ने बिभिन्न रोगहरुको विषयमा अग्रिम जानकारी गराउने र रोग लागिसकेको अवस्थामा रोग निर्मूल पार्न आवश्यक औषधिबारे जानकारी प्रदान गर्ने जनाए ।

फाउण्डेसन अध्यक्ष बाँस्तोलाले विद्यार्थीहरुमा सुरुदेखि नै वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सिर्जनशीललगायत क्षमता विकासमा सहयोग पु¥याउन बिभिन्न गतिविधि सञ्चालन गरिँदै आएको जानकारी दिए । उनले विद्यार्थीमा वैज्ञानिक सोच विकास, प्रविधिमय वातावरण निर्माण क्षेत्रमा काम गर्न फाउण्डेसनबाट निःशुल्क कार्यशाला भइरहेको बताए ।

एष्ट्रोनोभा फाउण्डेसनले हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञानप्रविधिसम्बन्धि गतिविधि सञ्चालन गर्दै आएको छ । जसका लागि नेपालका विदेश प्रतिनिधि बाबाटुन्डे आयोला छन् ।

समापन समारोहमा ताइवानका विज्ञानप्रविधि मन्त्री, विदेश विभाग प्रमुख, नेसनल ताइवान साइन्स एजुकेसन सेन्टरका डाइरेक्टर जेनरल, ताइवान राष्ट्रिय विश्वविद्यालयका प्रोफेसरलगायत बिभिन्न देशका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्