अनुहार अनुसारको आँखीभौं



सुष्मा महरा

सुन्दर अनुहारको कुरा आउँदा आँखाको बयान पहिले गरिन्छ। तर, आँखाको सुन्दरतामा महत्वपूर्ण भूमिका खेल्ने अर्को भाग भनेको आँखीभौं (आइब्रो) पनि हो। आँखाको मात्रै नभई, पूरा अनुहारकै सौन्दर्य वृद्धिमा आइब्रोको महत्वपूर्ण भूमिका हुन्छ। आँखीभौंबिनाको अनुहार कल्पना गर्दा पक्कै पनि सुन्दर अनुहारको कल्पना अपुरो हुन्छ। महिलाको हकमा त आँखीभांैको स्थान अझ धेरै महत्वपूर्ण हुन्छ। महिला आफ्नो आँखीभौंलाई अझ सुन्दर बनाउनका लागि थे्रडिङ गर्ने गर्छन्।

थ्रेडिङ भनेको विशेष प्रकारको धागोको सहायताले अनावश्यक रौं निकालेर आँखीभौंको आकार मिलाउनु हो। यसमा विशेष प्रकारको धागो तथा कैंची प्रयोग गरिन्छ। कतिपय अवस्थामा ट्विजर पनि प्रयोग गरिन्छ। थ्रेडिङ गर्दा कुनै पनि प्रकारको केमिकल तथा उत्पादन प्रयोग गरिँदैन।

आँखीभौंमा आएका अनावश्यक रौंलाई धागोको मद्दतले निकाल्नुअघि कपासले सफा गरिन्छ। रौं हटाउने बेला केही मात्रामा दुखाई र केही असहज महसुस हुन सक्छ। तर, करिव १०-१५ मिनेटमा यो प्रक्रिया सकिने भएकाले सहनै नसक्ने दुखाई भने हुँदैन। अनावश्यक रौं निकालिसकेपछि भने रौं उखालेको स्थानको ओपन पोर्स हुने भएकाले त्यसलाई छोप्न क्रिम लगाएर मसाज गरिन्छ। जसका कारण शीतल महसुस हुन्छ।

मानिसअनुसार रौं निकालिएका स्थानमा फेरि पलाउने समयमा हेरफेर हुन सक्छ। आवश्यकताअनुसार कसैले एक हप्ता त कसैले १५ दिनमा एकपटक थ्रेडिङ गर्नुपर्छ। आफ्नो अनुहारमा कस्तो सेपको आँखीभौं सुहाउँछ र आँखीभाैंलाई कस्तो आकार दिँदा अनुहार अझ सुन्दर देखिएला भन्ने धेरैको चासो हुन्छ। तर, कमैलाई मात्र यसका बारेमा थाहा हुन्छ। कतिपय अवस्थामा ब्युटिसियनले नै आँखीभौंलाई कस्तो आकार दिने भन्ने निर्णय गर्छन्। कतिपयले भने आफ्नो अनुहारमा कस्तो आकारको आँखीभौं सुहाउँछ, त्यहीअनुसारको बनाइदिन ब्युटिसियनलाई आग्रह गर्छन्।

प्रायःजसोले किशोरावस्थाको शुरूदेखि आँखीभौं मिलाउन शुरू गर्ने गर्छन्। हिजोआज त महिला मात्र नभई पुरुषले पनि आँखीभौं मिलाउने गरेको पाइन्छ। पुरुषले भने महिलाले जसरी सम्पूर्ण भागको आइब्रो नमिलाई दुई आँखाको बीचमा आएका अनावश्यक रौं मात्र हटाउने गर्छन्। कस्तो आकारको अनुहार भएका महिलालाई कस्तो प्रकारको आँखीभौं सुहाउँछ भन्ने जानकारी राख्नु सौन्दर्यप्रेमीका लागि जरुरी छ।

अण्डाकार अनुहार
अण्डाकार अनुहार (ओभल सेप फेस) सबैभन्दा राम्रो बनोट भएको अनुहार मानिन्छ। जुनसुकै आकारको अनुहारको मेकअप गर्दा पनि शुरुमा अण्डाकारमा काटेर मात्रै मेकअप शुरु गरिन्छ। यस्तो बनोटको अनुहारमा जुनकुनै सौन्दर्य स्टाइल पनि लगभग सुहाउने गर्छ। अण्डाकार अनुहारमा आँखीभौं हल्का माथि उठाएर फेरि सुताएको राम्रो हुन्छ। यस्तो अनुहारमा आँखीभौं लामोभन्दा ठिक्क छोटो राख्नु नै उत्तम हुन्छ।

चौडा अनुहार

चौडा अनुहार (स्क्वायर सेप फेस) को जलाइन सीधा आकारको हुन्छ। यस्तो अनुहारमा छोटो र थोरै घुमाउरो अर्थात् डिप भी सेपको आँखीभौं बनाउँदा सुन्दर देखिन्छ। यो आकारको आँखीभौंले अनुहारको सीधा जलाइनलाई आकर्षक आकार दिन भूमिका खेल्छ। चौडाकार अनुहारमा सीधा आँखीभौं राख्नु सौन्दर्यका हिसाबले सुहाउँदैन। यस्तो आँखीभौंले अनुहारको चौडापन झन् बढी देखाउँछ।

लाम्चो अनुहार
लाम्चो अनुहार (लङ सेप फेस) लाई आयातकार अनुहार पनि भनिन्छ। यस्तो अनुहारको निधार र निधारको हड्डी लामो आकारको हुन्छ। यस्तो अनुहारमा सीधा आँखीभौं राम्रो सुहाउँछ। तेर्सो लाइन सेपले लाम्चो अनुहारलाई थप आकर्षक देखाउन मद्दत गर्छ। तर, गोलो आँखीभौं भने बनाउनु हुँदैन। गोलो आकारको आँखीभौंले लाम्चो अनुहारलाई झनै लाम्चो बनाइदिन्छ।

गोलाकार अनुहार

गोलो अनुहार (राउन्ड सेप फेस) लगभग लाम्चो आकारको अनुहारसँग मेल खाएजस्तो देखिन्छ। गोलो अनुहार लाम्चोभन्दा केही छोटो र हल्का बढी फराकिलो हुन्छ। घुमाउरो आँखीभौं यस्तो अनुहारमा राम्रो देखिन्छ। घुमाउरो आँखीभौंले गोलो अनुहारलाई केही लामो देखाउन भूमिका खेल्छ। गोलाकार अनुहारमा गोलो आँखीभौं बनाउने गल्ती भने गर्नु हुँदैन। यसले अनुहारलाई झनै गोलो बनाइदिन्छ।

हीराकार अनुहार

हीराकार अनुहार (डायमन्ड सेप फेस) भएकाको निधारको भाग साँघुरो हुन्छ। आँखानजिकको भाग (जलाइन) केही फराकिलो हुन्छ। यस्तो अनुहारमा बांगो (कर्भ) आँखीभौं बनाउनु राम्रो सुहाउँछ। कर्भ आकारमा केही छोटो बनाएर राख्दा लुक्स उत्कृष्ट देखिन्छ। यस्तो आँखीभाैंले साँघुरो निधारलाई मेन्टेन गर्न भूमिका खेल्छ।

मुटु आकार अनुहार

मुटु आकार अनुहार (हर्ट सेप फेस) चिटिक्क मिलेको हुन्छ भने चिउँडो तीखो (प्वाइन्टेड) खालको हुन्छ। यस्तो अनुहारमा नरम र गोलो आकारको आँखीभौं उत्कृष्ट देखिन्छ। मुटु आकारको अनुहारमा गोलो आँखीभौं राख्दा अरूको नजर तीखो चिउँडोबाट आँखीभौंतिर केन्द्रित हुन्छ।

थ्रेडिङ गरेर आइब्रो सुन्दर बनाउँदा मुहारको सौन्दर्यमा आश्चार्यजनक ढंगले वृद्धि हुन्छ। तर, यसो भन्दैमा थ्रेडिङ जथाभावी ढंगले र जो–कोहीसँग गर्नु हुँदैन। थ्रेडिङ गर्दा जहिले पनि सिपालु ब्युटिसियनका साथ गर्नुपर्छ। यदि ब्युटिसियन तालिमप्राप्त छैन भने आइब्रोको सेप बिग्रिन्छ र अनुहार सुन्दर देखाउने चक्करमा झनै कूरूप देखिन पनि सक्छ। कतिपय अवस्थामा रौं उखेल्दा हुने कमजोरीले आँखीभौं बिग्रिने मात्रै होइन, कतिपयलाई चोट लागेर घाउ हुने र डन्डिफोर निम्तिने समस्या पनि हुन सक्छ।

कतिपयले आँखीभौं साह्रै मसिनो र पातलो हुने तथा हुँदै नहुने समस्या पनि झेलिरहेका हुन्छन्। यस्तो अवस्थामा अरुकोे मोटो आँखीभौं हेरेर निराश हुने होइन बरु त्यसको विकल्प सोच्नुपर्छ। आँखीभौं पातलो छ भने पेन्सिलले कोरेर अथवा स्थायी आँखीभौंको ट्याटु खोपेर पनि सुन्दरता थप्न सकिन्छ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्