ई सिगरेट नियन्त्रणको आवश्यकता



‘ई सिगरेट’ वा ‘भेप’ भनिने ‘विद्युतीय चुरोट’ लाई धेरैले सुर्तीबाट बनाइने चुरोटभन्दा सुरक्षित भन्ने ठानेका हुन्छन् र यसको प्रचार पनि त्यसरी नै गरिएको हुन्छ । तर भेप पनि सुर्तीबाट निर्मित चुरोटजत्तिकै हानिकारक रहेको छ । यसकै कारण मानिसको ज्यानसमेत गएकाले अमेरिकाका कैयौँ राज्य र विश्वका केही देशहरुले यसको प्रयोगमा प्रतिबन्ध नै लगाइसकेका छन् ।

सन् २००३ मा चीनबाट शुरु भएको ई सिगरेटलाई सुर्तीबाट बनेको चुरोटको राम्रो विकल्पको रुपमा लिएको, फरक स्वाद हुने र व्यक्तित्व बढ्ने भ्रमका कारण करिब दुई दशकको अवधिमा विश्वका खासगरी युवा पुस्तामा लोकप्रिय बन्न पुग्यो । भेपको फ्लेबरमा टेट्राहाइड्रोक्याबिनोल (टीएचसी) लगायतका रसायन मिसाइएका कारण यसले मानिसको ज्यान लिन थालेको अनुमान गरिएको छ ।

हालै विश्व स्वास्थ संघले किशोरकिशोरीलाई ई सिगरेट पान गर्नबाट जोगाउने किसिमको कदम तत्कालै चाल्न आग्रह गरेको छ । ई सिगरेट पान गर्नेहरुलाई मात्र नभई सिगरेट पान गर्दा निस्किने धुवाँका कारण वरिपरि रहेका मानिसहरुको स्वास्थ्यमा पनि असर गर्छ । साथै वातावरणमा पनि असर गर्छ । त्यसकारण वातावरण स्वच्छ राख्न र ई सिगरेटका कारण स्वास्थ्य खराब हुन नदिनका लागि यसको प्रयोगमा नियन्त्रण गर्न आवश्यक रहेको विश्व स्वास्थ्य संघको भनाइ छ ।

अहिले ई सिगरेटलाई विश्वका अधिकांश मुलुकमा खुला बजारमा बेच्न, उपभोग गर्न दिनुका साथै युवा तथा किशोरकिशोरीहरुलाई लक्षित गरी बजारीकरण गर्न छुट दिइएको छ । अहिले विश्वका ३४ वटा देशले मात्र ई सिगरेट बेच्न प्रतिबन्ध लगाएका छन्, ८८ वटा देशमा ई सिगरेट किन्न पाउने न्यूनतम उमेर तोकिएको छैन र ७४ वटा देशमा यी हानिकारक वस्तु खरिद, बिक्री, उपभोग गर्न पाउने÷नपाउने सम्बन्धमा कुनै नियम बनाइएको छैन ।

विश्व स्वास्थ्य संघका महानिर्देशक डा. टेड्रोस अधानेमका अनुसार ‘अहिले विश्वमा नै कलिला केटाकेटीलाई ई सिगरेट प्रयोग गर्नका लागि उक्साउने, दुरुपयोग गर्ने एवं फन्दामा पारेर निकोटिन प्रयोगका लागि बाध्य पार्न थालिएको छ ।’ डा टेड्रोसले भनेका छन्, ‘आफ्ना देशका नागरिक विशेष गरी बालबालिका र किशोरकिशोरीहरुलाई ई सिगरेटको हानिकारक लतबाट बचाउनका लागि कडा कानुन लागू गर्न आग्रह गर्दछु ।’

निकोटिनयुक्त ई सिगरेटहरु एकदमै लत लाग्ने खालका र स्वास्थ्यका लागि धेरै नै हानिकारक हुन्छन् । यी सिगरेट पान गर्दा हुने दीर्घकालीन स्वास्थ्य असरबारे अझै पूरा जानकारी आइसकेको छैन, अध्ययनकै क्रममा छ । तर यसले विषाक्त पदार्थ उत्पन्न गर्ने, ई सिगरेट क्यान्सरको कारक बन्ने र मुटु तथा फोक्सोको रोग वृद्धिको जोखिम बढाउने कुरा भने पत्ता लागिसकेको छ । ई सिगरेटको प्रयोगले मस्तिष्कको विकासमा असर गर्न सक्छ र यसले युवाहरुको अध्ययन क्षमतालाई पनि असन्तुलित पार्न सक्ने देखिएको छ । गर्भवती महिलाले ई सिगरेट पान गरेमा गर्भको भ्रूणको विकासमा गम्भीर असर गर्न सक्ने पाइएको छ ।

विश्व स्वास्थ्य संघका स्वास्थ्य प्रवद्र्धन निर्देशक डा. रुएडगर भन्छन्, ‘ई सिगरेटलाई सामाजिक सञ्जाल र बालबालिकाहरुलाई प्रभाव पार्न सक्ने व्यक्तिहरु (सामाजिक सञ्जालमा धेरै फलोअर्स भएकाहरु) को माध्यमबाट उनीहरुलाई लक्षित गरी विभिन्न विधिबाट प्रचार गरिन्छ । बालबालिका तथा युवा पुस्तालाई लक्षित गरी कार्टुन क्यारेक्टर निर्माण गर्ने र उनीहरुको मन छुने गरी अरु साधनबाट प्रभावित गर्ने गरिएको छ । अहिले धेरै देशका बालबालिका तथा युवा पुस्तामा ई सिगरेटको प्रयोग अत्यन्तै खतरनाक किसिमले वृद्धि भइरहेको छ, जुन चिन्ताजनक छ ।’
अहिले विश्व स्वास्थ्य संघ अन्तर्गतका क्षेत्रमा वयष्कहरुमा भन्दा १३ देखि १५ वर्षका किशोरकिशोरीमा ई सिगरेटको प्रयोग उच्च रहेको छ । क्यानडामा ई सिगरेट पान गर्ने १६ देखि १९ वर्षका किशोरकिशोरीहरुको संख्या सन् २०१७ को तुलनामा सन् २०२२ मा दोब्बर भएको छ । र, बेलायतमा विगत तीन वर्षमा यो संख्या तेब्बरले वृद्धि भएको छ ।

नेपालमा ई सिगरेट उपभोक्ताको बारेमा विशेष अध्ययन भइनसकेको भए पनि यसका उपभोक्ता वृद्धि भएको पाइएको छ । शुरुमा नौलोपनका लागि खाने र पछि छोड्नै नसक्ने गरी लत लाग्ने गरेको युवाहरुले बताउने गरेका छन् । ई सिगरेटले पु¥याउन सक्ने हानि निकै गम्भीर भएकोले सुर्तीजन्य वस्तुको बिक्री, वितरण र उपभोगमा लगाइने नियम ई सिगरेटको हकमा पनि लगाउनु उचित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्