आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै



काठमाडौं ।

७१ औँ  विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ।

स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन्।

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ।

कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्। मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन्।

यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन्।

नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्