डा. शर्मा सर्वोत्कृष्ट चिकित्सकका रूपमा सम्मानित

0
Shares

काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रमुख कन्सल्टेन्ट डा. बिमल शर्मा चालिसेलाई सर्वोत्कृष्ट चिकित्सकका रूपमा सम्मानित गरेको छ।

अस्पतालले बुधबार आफ्नो ९० औँ वार्षिक उत्सव कार्यक्रममा ३४ वर्षदेखि सेवारत डा. चालिसेलाई सम्मानित गरेको हो।

सम्मानित डा. चालिसेले आफूले पाएको नगद पुरस्कार आर्थिक अवस्था अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका बिरामीको सेवामा समर्पित गर्दै अस्पताल प्रशासनलाई नै हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा अस्पतालमा २५ वर्षभन्दा माथि सेवा गर्दै आएका स्वास्थ्यकर्मी, कर्मचारीहरूका साथै सेवा निवृत्त भएकाहरूलाई पनि सम्मान गरिएको थियो।

९० वर्षअघि टेकुमा स्थापना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरकारद्वारा सञ्चालित सरुवा रोगलक्षित अस्पताल हो।

२५ बेडबाट शुरू भएको यो अस्पतालमा हाल १ सय श्यया रहेकोे अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताउनुभयो।

उहाँले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै टेकु अस्पताल सरुवा रोगको महामारी फैलने क्रममा उपचार सेवा दिने अब्बल अस्पतालका रूपमा स्थापित भएको बताउनुभयो।

उहाँले कोरोना महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालको रूपमा कहिलिएको अस्पतालले जनशक्ति र श्ययाको कमीका कारण सोचेजति काम गर्न नसकिएको बताउनुभयो।

१ सय ६७ दरबन्दी रहेको अस्पतालमा हाल ६३ दरबन्दी रिक्त छ। अस्पतालले स्तरवृद्धि गरी ३ सय श्ययाको बनाउने योजनासहित ७१ जना अस्थाई स्वास्थ्यकर्मी नियुक्त गरी काम अघि बढाएको छ। हालको क्षमतामा वर्षमा १ लाख ६ सय १९ जनालाई सेवा दिएको जानकारी दिनुभयो।

बसौलाले आगामी वर्षको योजनामा अस्पताल विस्तार, सुधार, सेवा प्रवाह, जनशक्ति थप, फोहोर मैला निर्मलीकरण, खानेपानीको व्यवस्थापन, समयसापेक्ष स्तरोन्नति गर्नुपर्ने विषयमा जोड दिनुभयो।

उहाँले स्थान अभावको विषयमा कुरा उठाउँदै अस्पतालका नाममा ७० रोपनी जग्गा भए पनि अस्पतालले १६ रोपनी मात्रै भोगचलन गरेको र बाँकी सबै स्वास्थ्य सेवा विभागका विभिन्न कार्यालयहरूले भोगचलन गरेको बताउनुभयो।

गत वर्ष अस्पतालले १६ करोड रुपियाँ आम्दानी गरेकोमा १४ करोड खर्च गरी १ करोड बचत गरेको र १ करोड रुपियाँ बेरुजु देखिएको बताउनुभयो।

Skip This