पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण



काठमाडौं ।

नेपालमा पहिलो पटक ३ वर्षको बालकमा कलेजो प्रत्यारोपण सफल भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुष २७ गते कलेजो प्रत्यारोपण गरिएका वीरगञ्ज, पर्साका ३ वर्षीय बालक ९ दिनपछि हिजो आइतबार स्वास्थ्यलाभ गरी अस्पतालबाट घर फर्किएका छन्।

ती बालकलाई उनकी ३० वर्षीया आमाले कलेजो दान दिनुभएको थियो। वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र आइतबार घर पठाइएको जानकारी दिनुभयो।

उहाँले कलेजो दाता बालककी आमा ३ दिनअगावै सकुशल डिस्चार्ज भई घर फर्कीसकेको पनि बताउनुभयो। कलेजो प्रत्यारोपित बालकलाई डिस्चार्ज गर्दा अस्पतालका चिकित्सक एवं नर्सलगायतको आँखा खुशीले रसाएका थिए।

डा. श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा. वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो।

नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात गरेको केन्द्रले सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ।

यस केन्द्रले शुरूको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी सकेको छ।

केन्द्र स्थापनाको ११ वर्ष अवधिमा १ हजार १ सय ८८ जनाको मिर्गाैला र १८ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्