कलेजो प्रत्यारोपित ३ वर्षीय बालकको डिस्चार्ज 



काठमाडौँ। 

नेपालमा पहिलोपटक ३ बर्षको बालकमा कलेजो प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुष महिनाको २७ गते कलेजो प्रत्यारोपण गरिएका वीरगन्ज, पर्साका ३ वर्षीय बालकको माघ ७ गते आइतबार ९औँ दिनमा डिस्चार्ज भएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी  थिइन्  ।

कलेजो प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपित बालक सबैका आँखाका नानी बनेकै कारण आफन्तका साथ अस्पतालका चिकित्सक, नर्स, भिजिटर्स लगायतको आँखा डिस्चार्जका समयमा खुशीले रसाएका थिए ।

 बालक अस्पताल भर्ना भएदेखि हरेक डाक्टर, नर्सका हातमा ललिपप, चकलेट, मिठाई हुन्थ्यो एक नर्सले भनिन् । बालकको कलेजो प्रत्यारोपणदेखि डिस्चार्ज सम्मको अवस्थामा बारेमा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र कलेजो दाता ३ दिनअगावै सकुशल डिस्चार्ज भई घर गइसक्नु भएको बताए।

डा. श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ्ग तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन उक्त प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणमा पाटनअस्पतालका बालरोग विशेषज्ञ डा.पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको अस्पतालले जानकारी गरायो ।

देशमा कलेजो प्रत्यारोपाणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा  यो वर्ष १० जनाको सफल केलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा १ हजार १ सय ८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण भइसकेको जानकारी गराइएको छ।

देशमै पहिलो पटक मस्तिष्क मृत्यु पश्चात हुने अंगदानबाट प्रत्यारोपण गरेको यस केन्द्रले मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंगदान तथा प्रत्यारोपण कार्य सुचारु गर्न सबैमा आह्वान गरेको छ र केन्द्र स्थित समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समस्तअंग फेल भएको व्यक्तिहरुलाई आग्रह समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्