स्वास्थ्य चौकी भवन नबन्दा स्वास्थ्य सेवा प्रभावित



धादिङ ।

खनियाबास गाउँपालिका–५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवालगायतका स्वास्थ्य सेवा प्रभावित भएका छन्।

गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तर गर्नुपर्ने भवन निर्माण सम्पन्न गर्ने काम नभएकाले स्वास्थ्य सेवा प्रभावित भएको हो।

दैनिक ३० जनाभन्दा बढी बिरामी सेवा लिन आउने भोक्टेनी स्वास्थ्य चौकीमा सुत्केरी भएपछि राख्ने ठाउँको अभाव छ। सरकारले घोषणा गरेको शून्य घर सुत्केरी कार्यक्रमसमेत प्रभावित भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

२४सै घण्टा सुत्केरी गराउने कर्मचारी व्यवस्था गरेर राखिएको भएपनि भवन अभावले स्वास्थ्यचौकीले सुत्केरी गराएपछि घर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक जीवन लामा तामाङ बताउनुहन्छ।

रविना अविश विकन जेभी नाकम ठेकेदार कम्पनीले भोक्टेनीसहित मूलपानी, गुम्दी, कटुन्जे स्वास्थ्यचौकी निर्माण गर्नका लागि २०७७ फागुन २० गते सम्झौता गरेर २०७९ असार ३ गते निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो।

संघीय सरकारको जिल्लास्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले रेखदेख गर्नेगरी ठेक्कामा काम भएको स्वास्थ्य संस्थाको काम ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा नगरेको हो।

चार वटा स्वास्थ्य चौकीको कामसम्पन्न नगरेको अवस्थामा रहेको र ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्नका लागि मन्त्रालयले २०८१ असोज ७ गतेसम्म काम गर्ने समय थपिदिएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका सूचना अधिकारी अजेय आचार्यले बताउनुभयो।

भोक्टेनी स्वास्थ्य चौकीको काम वित्तीय प्रगति ५० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको बताइएको छ । एक वर्षअघि संरचना तयार गरी गारोको प्लास्टर गरेर छाडिएको ठाउँमा झार पलााइसक्दा समेत फिनिसिङको काम नभएकाले आफूले ताकेता गर्दा समेत वास्ता नगरेको वडाध्यक्ष रविन तामाङ बताउनुहुन्छ।

भोक्टेनी स्वास्थ्यचौकीको ठेकेदार कम्पनी रविना अविश विकन जेभी ले ७३ लाख रुपियाँ भुक्तानी लगेको छ। चार वटा स्वास्थ्य संस्था निर्माणको कामको ठेक्का पाएको सो जेभीले गुम्दीमा जग्गाको विवादका कारण भर्खर काम शुरू गरेको हो।

सहज भएको मूलपानी, कटुन्जे र भोक्टेनीमा समेत काम सकेको छैन। एक वर्षदेखि ठेकेदार कम्पनीका मानिसहरुले काम छाडेर सम्पर्कविहीन भएको स्थानीय स्वास्थ्य संस्था प्रमुखहरुले बताएका छन्।

चार स्वास्थ्य चौकीको भ्याटबाहेक ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपियाँ ८३ पैसामा ठेक्का लिएको रविना अविश विकन जेभीले हालसम्म २ करोड १५ लाख १५ लाख ९० हजार ७ सय ४६ रुपियाँ २७ पैसा कामको आधारमा सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले भुक्तानी दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्