१  वर्ष अघि निर्माण सम्पन्न गर्नुपर्ने स्वास्थ्यचौकीहरु सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रभावित



धादिङ । 

 खनियाबास गाउँपालिका वडा नम्बर ५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवा लगायतका स्वास्थ्य सेवा नै प्रभावित भएको छ ।

गत वर्ष निर्माण सम्पन्न गरी  व्यवस्थापन समितिलाई हस्तान्तर गर्नुपर्ने भवन निर्माण सम्पन्न गर्ने काम नगरेका कारण सेवा सञ्चालन गर्न नपाएर स्वास्थ्य सेवा प्रभावित भएको हो ।

दैनिक ३० भन्दा बढी बिरामी सेवा लिन आउने भोक्टेनी स्वास्थ्य चौकीमा सुत्केरी भएपछि राख्ने ठाउँ अभाव छ । सरकारले घोषणा गरेको शून्य  घर सुत्केरी  (जिरो होम डेलिभरी)  कार्यक्रम समेत प्रभावित भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

२४ सै घण्टा सुत्केरी गराउने कर्मचारी व्यवस्था गरेर राखिएको भएपनि भवन अभावले स्वास्थ्यचौकीले सुत्केरी गराएपछि घर पठाउनुपर्ने बाध्यता आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक जिवन लामा तामाङले जानकारी दिए ।

रबिना अबिश विकन जेभी नाकम ठेकेदार कम्पनीले भोक्टेनीसहित मूलपानी, गुम्दी, कटुन्जे स्वास्थ्य चौकी निर्माण गर्नका लागि २०७७ फागुन २० गते सम्झौता गरी  २०७९ असार ३ गते निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । संघीय सरकारको जिल्ला स्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले रेखदेख गर्नेगरि ठेक्कामा काम भएको स्वास्थ्य संस्थाको काम ठेकेदार कम्पनीले तोकिएको समयमा पुरा गरेको छैन । चार स्वास्थ्य चौकीको काम कुनैपनि सम्पन्न नगरेको अवस्थामा रहेको र ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्नका लागि मन्त्रालयले २०८१ असोज ७ गतेसम्म काम गर्ने समय थपिदिएको  सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका सूचना अधिकारी अजेय आचार्यले बताए ।

भोक्टेनी स्वास्थ्य चौकीको काम वित्तीय प्रगति ५० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको बताइएको छ । एक वर्षअघि संरचना तयार गरी  गारोको प्लास्टर गरेर छाडिएको ठाउँमा झार पाइसक्दा समेत फिनिसिङको काम नभएकोले आफूले ताकेता गर्दा समेत वास्ता नगरेको वडा अध्यक्ष रबिन तामाङको भनाइ छ ।

भोक्टेनी स्वास्थ्यचौको ठेकेदार कम्पनी रबिना अबिश विकन जेभीले ७३ लाख रुपैयाँ भुक्तानी लगेको छ । चारओटा स्वास्थ्या  संस्था निर्माणको कामको ठेक्का पाएको रबिना अबिश विकन जेभीले गुम्दीमा जग्गाको विावादका कारण भरखर काम सुरु गरेको छ भने अन्यत्र सहज भएको स्थानमा मूलपानी, कटुन्जे र भोक्टेनीमा समेत काम सकेको छैन । एक वर्षदेखि ठेकेदार कम्पनीका मानिसहरुले काम छाडेर सम्पर्क विहीन भएको स्थानीय स्वास्थ्य संस्था प्रमुखहरुले नेपाल समाचारपत्रलाई बताएका छन्  ।

 चार स्वास्थ्य चौकीको भ्याट बाहेक ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ ८३ पैसामा ठेक्का लिएको रबिना अबिश विकन जेभीले हालसम्म २ करोड १५ लाख १५ लाख ९० हजार ७ सय ४६ रुपैयाँ २७ पैसा कामको आधारमा सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले भुक्तानी दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्