सुस्वास्थ्य अस्पतालले मनायो नवौं वार्षिकोत्सव



काठमाडौं ।

नसा तथा हाडजोर्नीका बिरामीहरुको अकुपन्चर विधिबाट उपचार गर्दै आएको सुस्वास्थ अस्पतालले नवौं वार्षिकोत्सव मनाएको छ।

औषधिविहीन उपचार पद्दतीहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि सेवा सुरु गरेको सुस्वास्थ अस्पताल सोमबारदेखि ९ वर्षमा प्रवेश गरेको हो।

सोमबार आयोजित समारोहमा सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको दाबी गरे।

उनका अनुसार सुस्वास्थ्य अस्पतालमा नसा च्यापिएका, हड्डी खिइएका, पक्षघात, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन्।

अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ।

त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा छ।

जस अन्तर्गत सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको छ। यसबाट २ सयभन्दा बढी कर्मचारी लाभान्वित भएका छन्।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जसबाट पाँच हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको सुस्वास्थ्य अस्पतालले जनाएको छ।

स्वास्थ्य जनचेतना अभियानअन्तर्गत कम्मर र गर्दनको हेरचाह गर्ने र आफैं व्यवस्थापन गर्ने तरिका सिकाउने कार्य हालसम्म १० स्थानमार्फत १५ सय जनालाई गरिसकेको छ।

आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्