कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि सीमामा कडाइ



वीरगन्ज।

कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ। भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगन्जस्थित सीमा नाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो।

सीमा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ। भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यालयका  अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन्।

वीरगन्ज महानगरका स्वास्थ्य संयोजक अनिल यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँच जनाको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधवार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको बताए ।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ। एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनको भनाइ छ ।

हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ। पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

यसैबीच वीरगन्जस्थित सीमा नाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ। कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यका साथ यहाँस्थित सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो।

निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए। कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ थियो। भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिए। उनका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्