सिटिस्क्यान भवन मृतकको नाममा राख्ने सहमतिपछि शव उठ्यो



धादिङ ।

धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का विद्यादेवी सिंखडाको नाममा सिटिस्क्यान भवनको नाम राख्न व्यवस्थापन पक्ष सहमत भएपछि शव उठेको छ ।

एक दिनअघि धादिङ अस्पतालमा उपचारका लागि आएकी  ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की ५८ वर्षीया बिदादेवी सिंखडाको उपचारको क्रममा मृत्यु भएको सोमबार बिहान घोषणा गरिएपछि अस्पतालको लापर्वाहीले विरामी मरेको भन्दै आफन्त तथा पीडित पक्षले विवाद गरेका थिए ।

विवाद पछि  शव अस्पतालमै राखेर लापरबाही गर्ने कर्मचारी तथा चिकित्सकमाथि कारबाहीको माग गरिएको थियो ।

पीडित पक्षको माग बमोजिम अस्पताल व्यवस्थापन, संघीय सांसद रामनाथ अधिकारीको उपस्थिीतीमा पीडित पक्ष र चिकित्सक समेतको सहभागितामा वार्ता भएको थियो ।

वार्तापछि ३ बुँदे सहमति गर्दै शव उठाइएको छ ।

सहमति अनुसार हाल निर्माण हुने चरणमा रहेको सिटिस्क्यान भवनको नाम बिदादेवी सिंखडा स्मृति भवन नामाकरण गर्ने, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको संयोजकत्वमा ज्वालामुखीका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्र प्रसाद भट्ट, नीलकण्ठ नगरपालिका र धादिङ स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी विष्णुमाया रिजाल, र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ रहेको छानबिन समिति गठन गर्दै २१ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमति भएको धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले जानकारी दिए ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि दोषी देखिएका कर्मचारीलाई कारबाहीको सिफारिस गर्ने सहमति भएको थियो ।

वार्तामा संघीय सांसद रामनाथ अधिकारी, नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, ज्वालामुखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोद तिमल्सीना, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल, मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र प्रसाद भट्ट, डा. दिनेश रेग्मी, डा. रामन्द्र रिजाल, मृतकका छोरा प्रकाश सिंखडा, नेपाली काँग्रेसका नेता दीपक कोइराला, मृतकका श्रीमान् राजेन्द्र सिंखडा लगायत सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्