सुदूरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना संक्रमण



डोटी ।

सुदूरपश्चिम प्रदेशमा तीन दिनमा नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतबाट नेपाल भित्रिनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

निर्देशनालयका अनुसार तीन दिनमा चार सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकाबाट एक हजार चार सय ४४ व्यक्ति नेपाल भित्रिएका छन्।

कोरोना संक्रमित आठ व्यक्तिको नमुना संकलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत् केन्द्रमा पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

सुदूरपश्चिममा कोरोना भाइरसका संक्रक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्नुपर्ने गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ, हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट, मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन्।’

संक्रमितलाई होम आइसोलेसनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दिएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्