काभ्रेमा शीतलहर तथा हिमपातबाट प्रभावित हुन सक्ने सम्भावित परिवारहरुको विवरण सङ्कलन गर्ने 



काभ्रे। 

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकले शीतलहर तथा हिमपातबाट प्रभावित हुन सक्ने विपन्न समुदाय एवं बस्तीहरुको पहिचान गर्ने निर्णय गरेको छ । आइतबार धुलिखेलमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

 पहिचान भएका समुदाय एवं बस्तीहरुमा रहेका व्यक्ति एवम् परिवारहरूमध्ये पनि अति विपन्न, संकटापन्नहरु र चिसोबाट जोखिममा पर्न सक्ने परिवारको सदस्य संख्या तथा घरमूली भए नाम समेत यकिन गरी ७ दिन भित्र पठाउन स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

 स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरी जिल्ला आपकालिन कार्य सञ्चालन केन्द्रसँग सूचना-समन्वय गर्न स्थानीय तहहरुमा अनुरोध गर्ने, सबै स्थानीयतहहरुले न्यूनतम राहत सामग्रीहरू तयारी अवस्थामा राख्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधि तयार गरी व्यवस्थापन गर्ने र वितरण भएको राहतको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने संघ-संस्थाहरुले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तथा २०८० साल माघ २ गते राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने र जिल्ला स्तरमा विपद् व्यवस्थापन समितिका सदस्यहरु सहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

बैठक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम र उपप्रमुख रिमबहादुर तामाङ सहित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र विभिन्न कार्यालयका प्रमुख सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 बैठकले जिल्लामा विपद् व्यवस्थापनमा भएका कार्यहरुको समीक्षा गरेको छ । त्यस्तै जिल्लामा एम्बुलेन्स सञ्चालनको अवस्था सम्बन्धमा समीक्षा गर्दै पुस २० गते बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनको लागि स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा हाल सम्म मौज्दात रहेको एक करोड ९३ लाख ९७ हजार ७ सय ५१ रुपैयाँ रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष २०८०-२०८१ को श्रावण देखि पौष २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरी लगायतका विपद्का घटनामा पीडित भएका २१ घर परिवारलाई न्यूनतम ५ हजार देखि २० हजारसम्मको क्षतिपूर्ति र मृतक ब्यक्तिका आफन्तलाई २ लाख रुपैयाँ समेत गरी ४ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराइएको छ । उक्त खर्चलाई बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्