२० विमानस्थलमा विमान उड्दैनन्



काठमाडौं ।

व्यावसायिक रूपमा सफल नहुँदा करोडौं रुपियाँ खर्च गरी निर्माण गरिएका करिब दुई दर्जन विमानस्थल प्रयोगविहीन भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विभिन्न स्थानका २० वटा विमानस्थल प्रयोगमा आउन सकेका छैनन्।

सञ्चालनमा आउन नसकेका विमानस्थलहरूमा बलेवा बाग्लुङ, चौरजहारी रुकुम, गोकुलेश्वर दार्चुला, ढोरपाटन बाग्लुङ, पालुङटार गोरखा, जिरी दोलखा, कमलबजार अछाम, खानीडाँडा खोटाङ, लामिडाँडा, लाङटाङ, महेन्द्रनगर, कालिकोट रहेका छन्। त्यस्तै मेघौली, रुम्जाटार, स्याङगोेचे, टीकापुर, मनाङ, चण्डेश्वरी, डोल्पा, रोल्पा विमानस्थल रहेका छन्।

हाल बढी हवाई चाप रहेका विमानस्थलहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज र विराटनगर विमानस्थल रहेका छन्।

सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फ २५ हजार ६७४ उडानबाट ३६ लाख ७९ हजार ६०५ जना यात्रुले सेवा लिएका छन्।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकतर्फ ७८ हजार ६६३ उडानबाट ३३ लाख ४४ हजार ३०२ जना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ हजार ८९२ उडानबाट ४ लाख ४५ हजार ८७३ जना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ हजार ८५९ उडानबाट ७ लाख ३१ हजार ४२०, नेपालगन्ज विमानस्थलबाट १० हजार ५७० उडानबाट ३ लाख ८५ हजार ७५५ जना र विराटनगरमा ९ हजार ५७५ उडानबाट ५ लाख ४९ हजार ६ जनाले सेवा प्राप्त गरेका छन्।

आर्थिक वर्ष २०७९/८० मा कुल ४४ लाख ६६ हजार आन्तरिक उडानका यात्रु र ३४ लाख ८८ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विभिन्न १५ वटा विमान कम्पनीका ३० वटा विमानले नेपालबाट ४१ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान हुँदै आएका छन्।

अन्तरिक उडानतर्फ नेपाल एयरलाइन्स, बुद्ध, यती, श्री, सौर्यलगायतका फिस्क्ड विङ्सका ९ र रोटर विङ्सका १२ विमान कम्पनीले सेवा प्रवाह गर्दै आएको प्राधिकरणले जनाएको छ।

विमानस्थललाई नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्ने तर त्यसको व्यावसायिक रूपमा सफल नहुँदा हाल सञ्चालनमा रहेका केही विमानस्थल घाटामा रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

केही स्थानीय तहले खर्च बेहोरेर भए पनि विमानस्थल सुचारु गर्ने प्रयास गरेका थिए। तर, सफल हुन सकेनन्। सडकमार्गको सहज पहुँच, महँगो हवाई भाडा र अनियमित उडानलगायतका कारण अधिकांश विमानस्थल बन्द हुने अवस्थामा रहेका छन्।

सञ्चालनमा रहेका करिब एक दर्जन विमानस्थलमा यात्रु नहुँदा अनियमित उडान रहेकाले दिगो सेवा प्रवाहमा आशंका रहेको हवाई विज्ञहरू बताउँछन्।
धरान उपहानगरपालिकाका मेयर हर्क साङपाङले विमानस्थल माग गर्दै गरेको विद्रोहको चेतावनी दिएका थिए। व्यावसायिक अध्ययन र भौगोलिक सम्भाव्यताबिना नेताको लहडमा विमानस्थल बन्दा राज्यको ठूलो स्रोत खेर गएको विज्ञहरूको भनाइ छ।

हाल अर्घाखाँचीमा निर्माणधीन विमानस्थलको पनि व्यावसायिक सफलतामा आशंका गरिएको छ। प्राधिकरणका अनुसार हाल ४२ वटा विमानस्थलमा पक्की धावनमार्ग रहेको छन्।

त्यस्तै १७ वटा विमानस्थलमा रिफ्युलिङको सुविधा रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित विराटनगर, चन्द्रगढी, धनगढी, सिमरा, नेपालगन्ज र जनकपुर विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न भक्तपुरको नालिङचोकमा हेलिकप्टरका निम्ति विमानस्थल तयार गरेको छ। गत आर्थिक वर्षमा प्राधिकरणले ३७ वटा विमानस्थलको स्तरोन्ती गरेको थियो।

प्रतिक्रिया दिनुहोस्