छोराको चाहनाले ज्यान दाउमा राख्छन् ‘आमा’



सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–९ की दुब्लो शरीर भएकी सुनीता थापा (नाम परिवर्तन) ले छोरा जन्माउनकै लागि आठ पटकसम्म गर्भपतन गनुभएको छ। उहाँका तीनवटी छोरी छन्।

छोराकै आशमा त्यसपछि थापाले आठपटक लिंग पहिचान गर्दै गर्भपतन गराउनुभएको छ। अन्त्यमा छोरा त जन्मियो तर सुनीताको पाठेघर भने खस्यो। अहिले उहाँको पाठेघरमा रिङ राखिएको छ।

‘पहिले छोरा जन्माउन गर्भपतन गरें, अहिले आफ्नै स्वास्थ्यमा असर परेको छ’, सुनीता भन्नुहुन्छ– ‘अहिले मलाई तत्लो पेट दुख्ने र टुसुक्क बस्न नसक्ने भएको छ । कमजोरीको त कुरा नगरौं, उठ्यो कि चक्कर लाग्छ । धेरैपटक बेहोस् भएर ढलेको छु।’

आठौंपटक गर्भपतन गरी छोरा जन्माउन सफल उहाँको परिवार त खुसी भए तर उहाँको शारीरिक तथा मानसिक अवस्था भने कमजोर भयो। ‘३ वटा छोरी भएर छोराकै आशमा गर्भपतन गराएँ, अहिले सम्झँदा पीडा र पश्चाताप हुन्छ।’ –उदास हुँदै उहाँले भन्नुभयो। पटक–पटक लिंग पहिचान गरी गर्भपतन गर्ने अवस्थाले महिलाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ।

त्यस्तै, दैलेखको दुल्लुकी कमला (नाम परिवर्तन) ले छोरा जन्माउन तीनपटक गर्भपतन गर्नुभएको छ। चार छोरी जन्मिएपछि उहाँले गर्भको बच्चको लिंग पहिचान गर्न थाल्नुभएको थियो।

कमलाले गर्भपतन गराउन कहिले आफैं औषधि किनेर खानुभयो त कहिले घरेलु उपाय पनि अपनाउनुभयो। गर्भपतन गराउन कमलाले बाख्राको पिसाब, कुभिन्डोको तरकारी तथा गहत उमालेर पनि खानुभउको थियो।

‘मैले छोरा नपाएका कारण धेरै शारीरिक तथा मानसिक तनाव सहनुपर्‍यो’, कमला भन्नुहुन्छ– ‘यति गर्दा पनि छोरा जन्माउन सकिनँ, अहिले त आफैं शारीरिक रूपमा कमजोर छु।’

गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु अपराध हो । तर, पश्चिम भेगका सुनीता र कमला जस्ता कैयौं महिलाका लागि नेपालगन्ज तथा भारत पुगेर लिंग पहिचान र गर्भपतन गर्नु सामान्य जस्तै भएको छ। कमला लिंग पहिचान र गर्भपतन गर्न नेपालगन्ज पुग्नुभएको थियो।

यससम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन नगरिँदा लिंग पहिचानपछि गरिने गर्भपतन बढ्दो क्रममा रहेको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्का बताउनुहुन्छ। दर्ता नै नभएका औषधिको सेवन गरेर गर्भपतन गर्दा अझ समस्या हुने गरेको उहाँको भनाइ छ।

गर्भपतन पछिल्लो समय केही डाक्टर तथा मेडिकल पसल चलाउनेहरुको पैसा कमाउने माध्यम भएको डा. खड्का बताउनुहुन्छ। ‘सरकारले लिंग पहिचान गरी अवैधानिक रूपमा गर्भपतन गर्ने÷गराउनेलाई जरिवाना, उनीहरुको प्रमाणपत्र रद्ध गर्ने कानुन ल्याए तापनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन’, उहाँ भन्नुहुन्छ– ‘हामीले समयमा नै यो मामिलामा चासो दिएनौं भने यसले भयावह समस्या ल्याउन सक्छ।’

गर्भपतन रहरले नभई विभिन्न बाध्यताले गर्ने गरेको सुर्खेतका चिकित्सक बताउँछन्। गर्भमा भएको सन्तान चाहनाभन्दा फरक वा थाहै नभई बस्ने गर्भ जसले भविष्यमा दुःख हुने समस्याले धेरैले गर्भपतन गराउँछन्।

गर्भपतन गराउने सुरक्षित विधिहरु प्रचलित छन्। अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ। तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु सुझाउँछन्।

असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बताउनुहुन्छ। कसैका बच्चा सानो भएको, छोराको चाहना, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था रहेको छ।

नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ। तर, अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन्।

नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ। तर, कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याबलेटको ६ सयदेखि २ हजार रुपियाँसम्म तिरी गर्भपतन गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्