स्याङ्जाका एक कृषकले बेचे एकै सिजनमा ६० लाखको सुन्तला



स्याङ्जा। 

स्याङ्जाका एक कृषकले यही  वर्ष (चालु सिजन) मै झन्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षीय फनीनारयाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् । सिंचाई सुविधा भएको धानखेत मासेर त्रिपुत्र बागवानी फार्म मार्फत सुन्तला खेती गर्दै आएका  कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाखको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारणले यो वर्ष झन्डै ६० लाखको सुन्तला बिक्री गरेको बताए ।

७० मेट्रिकटन सुन्तला उत्पादन भएको बगैचाबाट प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बिक्री गरेको कृषक अर्यालले जानकारी दिए । । उनका अनुसार गत वर्ष ८५ मेट्रिक टन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गर्दा झन्डै ६५ लाख आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ मेट्रिक टन सुन्तला उत्पादन घटेको उनको भनाई छ । ५० को दशकमा हुँदा खादाको वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लागेका  अर्यालले मनग्य आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन्  । २०३६ सालबाटै सुन्तला लगाउन थालेका  अर्यालले २०५५ देखि मात्रै व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्दै आएका हुन् ।

“झन्डै ५० लाखको लागतमा ग्रेडिङ (वर्गीकरण गर्ने) मेशिन जडान गरेर सुन्तलाको मुल्य अनुसार ठूला र साना छुट्टाएर बेच्ने गरेको छु ।” कृषक अर्यालले भने , “विगतमा पोखरा, काठमाडौं, चितवन र बुटवलमा पुगेर सुन्तला बिक्री गर्दै आएको थिए ।” पछिल्लो समयमा भने भाटभटेनी सुपर मार्केट मार्फत सुन्तला बिक्री गदै आएको उनले बताए । बगैचाको हेरचाह गर्न नियमित ५ जनालाई रोजगार दिएका  अर्यालले सुन्तला पाक्ने समय (मंसिर, पुष र माघ) महिनामा झन्डै ४५ जनालाई रोजगार दिएका छन्   । बगैचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दैमा वर्षभरिमा झन्डै २५ लाख लगानी हुने गरेको अर्यालले बताए ।

पुष लागेपछि मात्रै आफ्नो बगैचाको सुन्तला बिक्री गर्दै आएका अर्यालले सुन्तला पाक्ने समयमा स्थानीय गाउँबाट झन्डै ४ करोड बराबरको सुन्तला खरिद बिक्री गर्दै आएका छन्  । सुन्तलाको दाना अनुसार प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला खरिद गरेर उनले टिपेर, वर्गीकरण र ढुवानी गरेर प्रतिकिलो ७० देखि ८५ रुपैयाँमा बिक्री गर्ने गरेको बताए । ५ छोरी र ३ छोराका पिता अर्यालले सबै सन्तानलाई उच्च शिक्षासम्मको अध्ययन गराएका छन्  । सबै छोरीको बिवाहदान भएको सुनाउँदै अर्यालले भने, “जेठो छोरा कृषि विषय (एजि) पढ्न अष्ट्रलिया, माईलो छोरा डाक्टर (एमबिए) पढ्न अमेरिका र कान्छो छोरा ईन्जिनियरिङ् पढ्न भारत गएका छन् ।” संयोग भने यस्तो छ ः ३ जना छोराहरु छात्रवृत्तिमै अध्ययनका लागि विदेश गएका हुन् ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिक टनमा सीमित रहने अनुमान छ । गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा चालु वर्षमा १ अर्ब १४ करोड ५२ लाख रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । यस वर्ष ४० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ६० प्रतिशत सुन्तला बोटमै छन् । जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेको छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३ सय २० हेक्टर रहेको छ भने ८ सय ८० हेक्टर जग्गामा बेर्ना बगैँचा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्