छोराको चाहनामा ज्यान दाउमा राख्छन् ‘आमा’



सुर्खेत ।

वीरेन्द्रनगर ९ कि सुनिता थापा (नाम परिवर्तन)ले छोरा जन्माउनकै लागी आठ पटकसम्म गर्भपतन गर्नुभयो । उहाँका तिनवटा छोरी छन् । छोराकै आशमा त्यसपछि उहाँले ८ पटक लिगं पहिचान गर्दै गर्भपतन गर्नुभयो । अन्त्यमा छोरा त जन्मियो तर सुनिताको पाठेघर भने खस्यो । अहिले उहाँको पाठेघरमा रिङ राखिएको छ। ‘पहिले छोरा जन्माउन गर्भपतन गरें, अहिले आफ्नै स्वास्थ्यमा असर परेको छ,’ उनले भनिन्, ‘अहिले मलाई तत्लो पेट दुख्ने र टुसुक्क बस्न नसक्ने भएको छ । कमजोरीको त कुरा नगरौ, उठ्यो की चक्कर लाग्ने, कति पटक त बेहोस् भएर ढलेको छु ।’

तिन छोरीलाई जन्माई, आठौ पटक गर्भपतन गरि छोरा जन्माउन सफल सुनिताको परिवार त खुसी भए तर उहाँको शारिरीक र मानसिक अवस्था भने कमजोर छ। दुब्लो शरीर, उदास अनुहारमा उहाँले भन्नुभयो, ‘३ वटा छोरी भएर छोराकै आशमा गर्भपतन गराएँ, अहिले सम्झँदा पीडा र पश्चाताप हुन्छ।’पटक–पटक लिंग पहिचान गरि गर्भपतन गर्ने अवस्थाले महिलाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ।

त्यस्तै, दैलेखको दुल्लुकी कमला (नाम परिवर्तन) ले छोरा जन्माउन तिन पटक गर्भपतन गर्नुभयो । चार छोरी जन्मिएपछि उहाँले गर्भको बच्चाको लिंग पहिचान गर्न थाल्नुभएको थियो । कमलाले गर्भपतन गराउ कहिले आफै औषधि किनेर खानुभयो । उहाँले कहिले घरेलु उपाय पनि अपनाउनुभयो । बुढापाकाको अनुसार गर्भपतन गराउन उहाँले बाख्राको पिसाब खानुभयो, कुभिन्डोको तरकारी खानुभयो र गहत उमालेर खानुभयो । ‘मैले छोरा नपाएको कारण धेरै शारिरीक तथा मानसिक तनाव सहनुपर्यो’ कमलाले भन्नुभयो, ‘यति गर्दा पनि छोरा जन्माउन सकिनँ, अहिले त आफैं शारिरीक रुपमा कमजोर छु।’

गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु अपराध हो । तर, पश्चिम भेगका सुनिता र कमला जस्ता कैंयौं महिलाहरुका लागि नेपालगन्ज र भारतसम्म पुगेर लिगं पहिचान र गर्भपतन गर्नु सामान्य जस्तै भएको छ । कमला लिगं पहिचान र गर्भपतन गर्न नेपालगन्ज पुग्नुभएको थियो । कर्णाली प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्काले यससम्बन्धि कानुनको कडाइका साथ कार्यान्वयन नगरिँदा लिंग पहिचानपछि गरिने गर्भपतन बढ्दो क्रममा रहेको बताउँनुहुन्छ । उहाँले दर्ता नै नभएका औषधिको सेवन गरेर गर्भपतन गर्दा अझ समस्या हुने बताउनुभयो । गर्भपतन पछिल्लो समय केही डाक्टर तथा मेडिकल पसल चलाउनेहरुको पैसा कमाउने माध्यम भएको उहाँको भनाई छ । ‘सरकारले लिंग पहिचान गरी अवैधानिक रुपमा गर्भपतन गर्ने गराउनेलाई जरिवाना, उनीहरुको प्रमाणपत्र रद्द गर्ने कानुन ल्याएता पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन,’ डा खड्काले भने, ‘हामीले समयमा नै यो मामिलामा चासो दिएनौं भने यसले भयावह समस्या ल्याउन सक्छ।’

गर्भपतनको बारे सबैमा ज्ञान हुनुपर्छ
गर्भपतन रहरले नभई विभिन्न बाध्यताले गर्ने गरेको सुर्खेतका चिकित्सक बताउँछन् । गर्भमा भएको सन्तान चाहना भन्दा फरक वा थाहै नभई बस्ने गर्भ जसले भविष्यमा दुख हुन्छ जस्ता समस्याले धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने सुरक्षित विधिहरु प्रचलित छन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु सुझाउँछन् ।

असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बताउनुहुन्छ । ‘गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुन्छ । यदि शिक्षाको कमी नभए उनी गर्भनिरोधकका उपाय अपनाउँछिन्,’ डा. पन्त भन्नुहुन्छ ।’ कसैका बच्चा सानो भएको, छोराको चाहना, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

“नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ । तर अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन् । नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ । तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याबलेटको ६ सयदेखि २ हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको सुर्खेतका महिलाहरु बताउँछन् ।”

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार सुर्खेत जिल्लामा वितेको तिन वर्षमा ७ हजार ७ सय ६७ गर्भपतन भएको छ । २०७७/०७८ मा २ हजार ४ सय ९१ जनाले गर्भपतन गराएका छन् । २०७८/०७९ मा २ हजार ६ सय १५ जनाले गर्भपतन गरेको तथ्याकंमा उल्लेख छ । यो संख्या २०७९/०८०मा आउदा बढेर २ हजार ६ सय ६१ पुगेको छ । सुर्खेत जिल्लाको पछिल्लो ३ वर्षको तथ्याकं हेर्दा पनि गभपतन गर्नेको संख्यामा बृद्धि भएको सहजै देख्न सकिन्छ ।

त्यसै गरी राष्ट्रिय जनगणना २०७८ को अनुसार प्रत्येक एक लाख जीवित जन्ममा अझै पनि १५१ महिलाको प्रसूति सम्बन्धी जटिलताका कारण मृत्यु हुने गरेको छ । कुल मातृ मृत्यु मध्ये ६ प्रतिशत अर्थात् ३७ महिलाले गर्भपतन गराएकोे तथ्याँकमा उल्लेख छ । नेपालमा वर्षेनी करिब एक लाख महिलाले सुरक्षित गर्भपतनको लागि सूचीकृत क्लिनिक र स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेका छन् । स्त्रीरोग विशेषज्ञहरूका अनुसार गर्भपतनको वास्तविक संख्या आधिकारिक तथ्याँक भन्दा कैयौँ गुणा बढी हुन सक्ने बताएका छन्, किनकि सबै गर्भपतनहरू रिपोर्ट हुँदैनन्, विशेष गरी औषधि सेवनबाट गरिने गर्भपतन ।

युएनएफपीएको हालैको प्रतिवेदन अनुसार सन् २०१७ मा नेपालमा भएका १२ लाख गर्भ मध्ये आधा अनपेक्षित थिए भने करिब तीन लाख ५९ हजारको गर्भपतन भएको थियो । ‘प्राकृतिक रुपमा छोरा र छोरीको संख्या बराबरी अथवा छोराको संख्या छोरीको अनुपातमा कम हुनुपर्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतम भन्नुहुन्छ । ‘तथ्यांक हेर्दा लिंंगको पहिचान गरेर गर्भपतन भइरहेको सहजै अनुमान लगाउन सकिन्छ।’ पहिलो कारण त, छोराकै चाहना भन्ने देखिन्छ, त्यसपछि बैधानिकता पाएपछिसहज बनेको पनि देखिन्छ ।

बैधानिकता पाएपछि तथ्याकंमा आउन थाल्यो नत्र पहिले त कहा कति गरे थाहै हुदैन थियो ।’ विद्युतिय सुचना प्रणालीले स्वास्थ्य संस्थामा उपलब्ध र गुणस्तरीयता बढेका कारण पनि यो संख्यामा वृद्धि आएको कार्यालय प्रमुख गौतम्को भनाई छ । उहाँका अनुसार यो संख्यामा कतिपय अपेक्षा नभएर बसेको गर्भपतन गरेको पनि जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस्