स्वदेश फाउण्डेशन नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं।

स्वदेश फाउण्डेशन नेपालले वालुवाटारस्थित लिच्छवीकालीन मन्दिर टुँडालदेवी मन्दिर परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ७० जनाको स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार आयोजित स्वास्थ्य शिविरमा अन्नपुर्ण न्युरो अस्पतालका साइक्रेयटिक चिकित्सक डा. आशिष ढकाल र कामपा वडा नं ३० की जनरल फिजिसियन डा. आरती शाह र काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका स्वास्थ्यकर्मीहरुको टोलीले विभिन्न स्वास्थ्य समस्याका साथै मानसिक रोगको समेत परीक्षण गरेका थिए ।

स्वर्गीय स्वदेश सेढाईको २७ औं जन्म जयन्तिको अवसर पारेर सामुदायिक सेवा केन्द, सामुदायिक प्रहरी सेवा केन्द्र टँुडालदेवी र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिनेश महर्जन र संस्थाका आजीवन सदस्य तथा सल्लाहकार ९५ वर्षीय जेष्ठ नागरिक कीर्तनकृष्ण भट्टराईले स्वर्गीय सेढाईको तस्वीरमा माल्यार्पण गरी उनको आत्माको चीर शान्तिको कामना गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले स्वदेश फाउण्डेशन नेपालले मानसिक रोग र आत्महत्या रोकथामको उद्देश्य लिएर अघि बढेको र स्वर्गीय सेढाईको जन्म दिनको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गरेर परोपकारी कार्यको शुभारम्भ गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै स्वदेश फाउण्डेशन नेपालका संस्थापक सदस्य तथा सल्लाहकार तथा कृष्ण प्रणामी युवा परिषदका पूर्व केन्द्रीय अध्यक्ष नमराज ढकालले स्वदेश फाउण्डेशन नेपालले विश्वसंगै नेपालमा बढ्दै गएको आत्महत्या र मानसिक रोगको रोकथाममा अघि बढाएको प्रयास आफैमा स्वागतयोग्य रहेको बताए।

कार्यक्रममा संस्थाकी अध्यक्ष गंगादेवी उप्रेतीले आफुले आफनो एकमात्र सन्तानलाई गुमाउँदाको पीडा सुनाउदै इन्टरम्याडियेट पास गरेको विद्यार्थीहरुलाई विदेश पठाउन नहुने धारणा राखिन् । उनले आफूले आफ्नो एकमात्र सन्तान गुमाएर जुन पीडा भोग्नु पर्यौ त्यो पीडा अरुले भोग्न् नपरोस भन्दै मानसिक रोग र आत्महत्या रोकथाममा लागि क्रियाशिल रहने बताइन् ।

कार्यक्रममा संस्थाका सचिव तथा पत्रकार किशोर सेढाईले आनी छोइङ्ग डोल्माले गाउनु भएको ‘फुलको आँखामा फुलै संसार’ बोलका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वदेश फाउण्डेशन नेपालले निर्माण गरेको स्वदेश सेढाईको जीवनमा आधारित एउटा बृत्त चित्र पनि प्रसारण गरिएका थियो ।

स्वर्गीय सेढाईको अष्ट्रेलियाको सिडनीस्थित युनिभर्सिटी अफ टेक्नोलजी सिडनीमा बीएसी कम्युटर साइन्समा तेस्रो वर्षमा अनर्स गरिरहेकै अवस्थामा जुलाई १२, २०१९ मा स्वघातका कारण निधन भएको थियो । स्वर्गीय सेढाई काठमाडौंको बानेश्वरस्थित एभेरष्ट फल्योरिडाबाट आइसीको अध्ययन पूरा गरी उच्च शिक्षा अध्ययनका लागि मार्च २०१७ मा अष्ट्रेलियाको सिडनी पुगेका थिए ।

 स्वास्थ्य शिविरमा टँुडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपाने, नेपाल पत्रकार संघका सभापति तथा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मन्जुरत्न शाक्य, कामपा ४ नं वडाका पुर्व वडाध्यक्ष मोहन बिष्ट,्र मालीगाउँ प्रहरी बृत्तका डीएसपी ईन्द्र प्रसाद सुवेदी, पूर्व नायव महान्याधिवक्ता नरेन्द पाठक, गिभिङ्ग आशा नामक गैर संस्थाकी निर्देशक बेथ ब्रेअस्टरलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्